गणतन्त्र पक्षधरहरूबीच गम्भीर विमर्श, सहकार्य र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्छ :अध्यक्ष भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्तिरशक्तिहरूको सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको टिप्पणी गरेका छन् ।

आज बिहानै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

मुलुक आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत,चीन,अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको उनको भनाइ छ।

यो गम्भीर स्थितिलाई बेलैमा वस्तुनिष्ठ आकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो भइसक्ने उनले बताएका छन् ।