धरानमा सामाजिक सद्भाव कायम राख्न सभापति शेरबहादुर देउवाको अपिल

धरानको घटनाको सम्बन्धमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी एकता र सद्भाव कायम राख्न अपिल गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक अपिल जारी गर्दै यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न अपिल गरेका छन् । 

‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याइ  आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन’, उनले भनेका छन्, ‘नेपालीको भावना र चाहनाविपरीत धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन। यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य/अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन।’