राष्ट्रपति र उपराष्ट्रपति पद खोपाका मूर्तिका हैन् :सांसद प्रेम सुवाल

काठमाडौं। प्रतिनिधिसभाका सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक, अखण्ड भारतको नक्साबारे बोल्न नसकेको उल्लेख गर्दै ती पद खोपाका मूर्तिका लागि नभएको बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिले राज्यको स्वामित्व वितरणमा प्रधानमन्त्री र मन्त्रीलाई झक्झकाउने र निर्वाचित राजा जस्तो बन्न नदिन भूमिका खेल्नुपर्ने बताए । संसद्लाई छलेर ल्याइएका नागरिकता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

‘राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन् । संसद्लाई छलेर पेस भएका नागरिता विधेयक तथा अन्य प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्नुपर्छ,’ उनले भने, ‘विधेयक संसद्बाट पास गरेर ल्याउनु, मलाई अनुरोध गर्ने होइन भनेर भन्न सक्नुपर्छ ।’

आफूलाई उम्मेदवार बनाउने पार्टीका नेताको भनाइमा लागेर राष्ट्रपति र उपराष्ट्रपतिले सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाटको थलो बनाएकोमा पनि उनले आपत्ति जनाए ।

उनले भारतीय संसद्मा लुम्बिनी र कपिलवस्तु गाभिएको नक्सा राखिएकोमा राष्ट्रपति र उपराष्ट्रपतिले कुनै अभिवक्ति नदिनु पनि आपत्तिजनक भएको बताए ।