सीता र सांस्कृतिक अतिक्रमण र विशाल नेपाल

काठमाडाैँ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखिएको छ । यस्तो भ्रामक संवाद भएको फिल्म हुनाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चलचित्रमा रहेको आपत्तिजनक अंश हटाउन पहल गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई असार १ गते पत्राचार गरेको थियो । पत्रमा उनले नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हो भनेका छन् । 

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत प्रदर्शन गरेमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता, राष्ट्रिय विभूतिहरूमाथि ठाडो प्रहार हुने र सो चलचित्रले नेपालमाथि सांस्कृतिक अतिक्रमण हुने हुनाले महानगरपालिकाको ध्यानाकर्षण भएको भनिएको छ । उता मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले जारी गरेको विज्ञप्तिमा जेठ ३१ गते फिल्म जाँच गर्दा राष्ट्रिय विभूति जानकीलाई भारतीय छोरी बनाएको संवाद हटाउन लगाई सोपश्चात सेन्सर पासको प्रमाणपत्र दिएर सार्वजनिक प्रदर्शन गर्न अनुमति दिइएको उल्लेख गरिएको छ । महानगरले आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरका ३२ वडा भित्रका १७ फिल्म हलमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न असार ४ गतेदेखि निषेध गरेको जनाइएको छ ।

जानकी
चलचित्र ‘आदिपुरुष’ का लेखक एवम् गीतकार मनोज मुंतशिर शुक्लाले भारतीय टेलिभिजन ‘आज तक’ सँग कुरा गर्दै उनले १९०३/१९०४ तिर मात्रै भारतबाट नेपाल अलग भएको दाबी गरेका छन् । उनले ‘नेपाल भारतकै भूभाग थियो । त्यसैले सीता भारतकै छोरी हो भन्ने कुरामा नेपालले आपत्ति जनाउनुपर्ने कारण म देख्दिनँ’ भनेका छन् । उनले अझ ‘रामायणको समयमा नेपाल भारतकै अंश थियो’ भनेका छन् । उनले “भूभागको विषयमा नेपाल भारत अहिले अलग हुन सक्छन् तर राष्ट्रको आधारमा नेपाललाई आज पनि म भारत नै भन्छु ।” पनि भनेका छन् ।

विद्वान् मनोज मुंतशिर शुक्लाले नेपालको मौलिकता र वीरताको इतिहास किन थाहा पाएनन् ? थाहा पाएर यस्ता कुतर्क गरेका हुन् भने भारतीय विस्तारवादी चरित्रको ढाकछोप मात्र हो । इतिहास साक्षी छ– नेपाल स्वाधीन देश हो । इतिहासमा कसैको उपनिवेश बनेको छैन । अङ्ग्रेजले गुलाम बनाउन नसकेका देशहरूमा नेपाल, जापान, भुटान, इरान, अफगानिस्तान, इथियोपिया, साउदी अरेबिया, चीन, थाइल्यान्ड र कोरिया हुन् ।

राजा जनककी छोरी सीतालाई जानकी भनिन्छ । राजा जनक र सीता दुवै नेपालका राष्ट्रिय विभूति हुन् । राष्ट्रिय विभूति त राष्ट्रकै हितमा योगदान गर्ने व्यक्तित्वहरू हुने होला नि ! हैन र ? ब्रिटिस साम्राज्यवाद दक्षिण एसियामा आउँदा व्यापारीको भेषमा बाइबलमा बन्दुक लुकाएर आएको थियो । ब्रिटिसले नेपाल बाहेक दक्षिण एसियाका लगभग सबै सानातिना ६ सयभन्दा बढी राज्यहरू कब्जा गरेर विशाल भारत बनाएको थियो । जबकि मनोज मुंतशिर शुक्लाले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने पुष्टि गर्न सन् १९०३/१९०४ तिर भारतबाट नेपाल अलग भएको दाबी गरेका छन् ।

उनले भने अनुसार त करिब वि. सं. १९६० तिर भारतबाट नेपाल स्वतन्त्र भएको हुनुपर्यो । नेपालको त्यस्तो इतिहास छैन । त्यतिबेला नेपालमा राणा शासन थियो । नेपालको स्वतन्त्रता दिवस छैन । भारतबाट अलग भएको भए नेपालले स्वतन्त्रता दिवस मनाउनुपर्ने हैन र ? नेपाल सधैँ स्वाधीन छ । कसैको गुलाम बनेको देश हैन । ओ मनोज मुंतशिर शुक्लाजी हजुरको इन्डिया २०० वर्ष ब्रिटिस साम्राज्यवादको दास बनेको हैन र ?  उनको अर्को तर्क ‘नेपाल भारतकै भूभाग थियो ।’

यसको जवाफमा के १५ अगस्टमा मनाइने भारतीय स्वतन्त्रता दिवस नेपालले मनाउँछ र ? नेपाल कसरी भारतको भूभाग ? ‘रामायणको समयमा नेपाल भारतकै अंश थियो’ जवाफमा मिथिला नेपालमा छ कि भारतमा ? जनकपुर नेपालमा छ कि भारतमा ? मिथिलाका राजा जनककी छोरी सीतासँग अयोध्याका राजा दशरथका छोरा रामले विवाह गरेका थिए । स्मरणीय कुरो पुष्पराज पुरुषका अनुसार “त्रेता युगमा १३ लाख वर्षअघि सीता मिथिलामा जन्मेका थिए ।” मिथिला र जनकपुर दुवै नेपालमै छन् । इतिहासमा विविध राष्ट्रहरूको साझा राज्य भारतमा नेपाल कहिल्यै थिएन । पश्चिम बङ्गाल जस्तो भारतको राष्ट्र राज्य नेपाल होइन । के नेपाल र भारत एउटै राष्ट्रियता भएका राष्ट्र राज्य हुन् र ? विद्वान् मनोज मुंतशिर शुक्लाजीलाई राष्ट्र र राज्यको फरक थाहा नै होला ?

के मनोज मुंतशिर शुक्लाले यी प्रश्नहरूका उत्तर तथ्यपरक रूपमा दिन सक्नुहुन्छ ?
राष्ट्र र राज्यका बारेमा सही उत्तर दिनु हुन्थ्यो कि ?
मिथिला नेपालमा छ कि भारतमा ?
जनकपुर नेपालमा छ कि भारतमा ?
राजा जनक कुन देशको राष्ट्रिय विभूति हो ?
सीता/जानकी कुन देशको राष्ट्रिय विभूति हो ?
स्वतन्त्रता दिवस नेपालले मनाउँछ कि भारतले ?
सन् १९०३/१९०४ मा भारतबाट नेपाल अलग भएको भन्ने प्रमाण के छ ?

ब्रिटिस साम्राज्यवादले भारतमा शासन चलाउँदा कुमाउ, गढवाल, देउथल, नालापानीमा युद्ध गोर्खालीसँग भएको हो कि भारतीयसँग ?

छिमेकी देशको इतिहास गुमराह पार्ने हजुर असल छिमेकी देशको नागरिक कि विस्तारवादी भारतको नागरिक ?

सांस्कृतिक अतिक्रमण

भारतीय विस्तारवादले इतिहासमा कसैको उपनिवेश नभएको नेपाललाई सांस्कृतिक साम्राज्यवादको दक्षिण एसियाको नायक बनेर भारतीय करण गर्न लागिरहेको छ । सांस्कृतिक साम्राज्यवाद सञ्चार र संस्कृतिको माध्यमबाट सबै किसिमका प्रगतिशील विचारलाई कमजोर पार्न चालिएको अभियानलाई भनिन्छ । यसले विश्वभरि भएका आआफ्ना मौलिक पहिचानलाई नष्ट गरेर पराधीन बनाउँछ । नेपालमा विस्तारवादी भारतले नेपालको मौलिक संस्कृति नष्ट गर्नु, गोर्खालीको वीरतापूर्वक इतिहासलाई विद्रुप पार्नु, देशभक्तिपूर्ण भावनामाथि धावा बोल्नु, नेपाली जनताका गरिबी र अशिक्षाबाट फाइदा उठाएर उपभोगको साधन बनाउनु आदि उद्देश्य राखेर आफ्नो सांस्कृतिक अतिक्रमण बढाइरहेको छ । सांस्कृतिक अतिक्रमणको पछिल्लो प्रकरण ‘आदिपुरुष’ फिल्मको ‘जानकी भारतीय छोरी हुन्’ हो ।

‘चाँदनी चोक टु चाइना’ फिल्ममा बुद्ध भारतमा जन्मेको थियो । चीनमा पछि बौद्ध धर्मको प्रचार भएको कुरा उल्लेख छ ।  माधुरी दीक्षितसितका टोली नेपालमा आएको बेला नेपाल भारतको प्रान्त हो भन्नु अज्ञान नभई योजनाबद्ध रूपमा भारतीय विस्तारवादको प्रभाव बढाउने कार्य हो । हिन्दी फिल्म र टेलिसिरियलमा नेपालीलाई बहादुरको रूपमा प्रस्तुत गर्नु नेपाल र नेपालीभाषीप्रति भारतीय विस्तारवादको नियत छर्लङ्ग देखिन्छ । इन्डियन कलाकार र धर्मगुरु एउटै कार्यक्रममा उपस्थित हुनु भारतीयकरणको सांस्कृतिक विभ्रम थोपर्ने मानसिकता प्रस्टै देखिन्छ ।

 पिथौरागढमा नक्कली लुम्बिनी बनाउनु “भारतले जन्माएका दुई महान् सपूतहरूमा महात्मा गान्धी र गौतम बुद्ध प्रमुख छन् ।” भन्ने इन्डियनहरूको विस्तारवादी चरित्र पुष्टि गर्ने इतिहासको तथ्य तोडमोड गरेको कार्यको दृष्टान्तको रूपमा लिन सकिन्छ ।

नेपाली टोपी लगाएका भारतीय दलाल विद्वान्हरूलाई प्रयोग गरेर आफ्नै देशको पाठ्यपुस्तकमा स्वतन्त्र देशको पहिचान अन्योल पार्ने गरी इतिहास खत्तम गर्न खोज्नु हामी नेपालीका लागि दुर्भाग्य हो । पुरानो कोर्समा स्नातकोत्तर तह अङ्ग्रेजी दोस्रो वर्षको ‘अ हिस्ट्र अफ नलेज’ पुस्तकको पृष्ठ सङ्ख्या २१ मा ‘गौतम बुद्धको जन्म इ. पू. ५६३ तिर उत्तरी भारतको राजकुलमा भएको थियो ।’(Siddhartha Gautama, the Buddha (“Enlightened One”), had been born about 563 BC to a princely family of northern India.)

भारतीय विस्तारवादको यस किसिमका सांस्कृतिक अतिक्रमण कहिलेसम्म प्रतिरोध गर्नुपर्ने हो ? समग्र क्षेत्रमा नेपाली मौलिकता नष्ट गरेर नेपाल भारतकै प्रान्त हो भन्ने प्रमाणित गर्न विस्तारवादी भारत अघि बढिरहेको छ । हामी देशभक्त नेपालीहरूले कहिलेसम्म प्रतिरोध गरिरहने ? विचारणीय कुरो छ ।

विशाल नेपाल 
भारतीय विस्तारवादको सबै हस्तक्षेपलाई प्रतिरोध गर्दै प्रगतिशील देशभक्त नेपालीहरू विशाल नेपालको अभियानमा विगत ३३ वर्षदेखि लागिरहेका छन् । भारत सरकारले मोरल विनाको मुराल नक्सा नयाँ संसद् भवनमा राख्यो ।

त्यसको प्रतिरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा विशाल नेपालको नक्सा राखेपछि विशाल नेपालको प्रचारप्रसार राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रैसँग भएको छ । अब राष्ट्रियताको पुनरुत्थानको यो अभियानमा सबै नेपाली लाग्यौ भने कुन्नि नत्र कुर्दिस जस्तै देश विहीन भएर वीर गोर्खाली सदा सदाका लागि यस धर्तीबाट लोप हुनेछ । सबैलाई चेतना भया ।