विश्वका सबै प्रदूषित सहरभन्दा काठमाडौं पहिलाे सूचीमा

काठमाडौं। काठमाडौं उपत्यका विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायु प्रदूषणका हिसाबले विश्वका सबै प्रदूषित सहरभन्दा काठमाडौं सूचीमा पहिलो बनेको हो।

विश्वका १०१ सहरको रियल टाइम प्रदूषण मापन गर्ने आइक्यु एयर नामक संस्थाका अनुसार शनिबार साँझ काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ।

वायुको गुणस्तर सूचकांक ९एक्युआई० मा २०२ अंकसहित शनिबार साँझ काठमाडौं विश्वकै विषाक्त हावा भएको सहर पुष्टि भएको हो। प्रदूषणको हिसाबले काठमाडौंपछि नयाँ दिल्ली, थाइल्यान्डको चियाङमाई, भियतनामको हनोई, थाइल्यान्डको बैंकक र बंगलादेशको ढाका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाचौं नम्बरमा छन्।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावको हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ। यो मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर तह हो। देशका विभिन्न भागमा लागेको डढेलो र यही सिजनमा कृषि अवशेष जलाउने गरिँदा प्रदूषण ह्वात्तै बढेको मानिएको छ।