वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा

नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गर्नुभएको छ ।

उहाँले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराउनुभएको हो । वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिनुभयो ।

बिमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिनुभएको छ । बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ ।

चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताउनुभयो । वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उहाँले मासिक रु २६ हजार छ सय ७० पाउँदै आउनुभएको छ ।

सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताउनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।