भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता

भारतसँग सीमा जोडिएको बैतडीमा चालु आर्थिक वर्षको नौ महिनामा ७४ जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आवको अहिलेसम्म ४७ महिलासहित ७४ जना बेपत्ता भएका हुन् । बेपत्ता भएका ४७ महिलामध्ये ३० जना फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । यस्तै १८ बालिका बेपत्ता भएकामा सात र चार बालक बेपत्ता भएकामा तीन र पाँच पुरुष बेपत्ता भएकोमा एक पुरुष मात्रै फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हराउने महिला तथा बालबालिकामध्ये केही प्रहरीको सक्रियतामा भेटिन्छन् भने केही आफन्तकै पहलमा भेटिने गरेका प्रहरी निरीक्षक खत्रीको भनाइ छ ।

हराउने बेला प्रहरीलाई खबर गर्ने गरेका भए पनि धेरै जना भेट्टिएका भए पनि प्रहरीमा खबर नगर्ने पनि गरेका छन् । हराएकाको अझै पनि जिल्लास्थित मातहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमानाकामा पनि कडाई गरिएको छ ।