के शेखर कांग्रेसले एमालेसँग तालमेल गर्न सक्ला ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १७ गते विस्तार गरेको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तर्फबाट ४ जना मात्र समेटिएपछि यस गठबन्धनको कमजोर कडी जतिखेर पनि फुस्किन सक्ने प्रस्ट संकेत गरेको छ । किनभने, सत्ता गठबन्धनमा विवादका बीच नेपाली कांग्रेसको भागमा ८ मन्त्रालय परेका छन् । तर कांग्रसले आफ्नो भागमा परेका चार मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो लगाउन सकेको छैन ।पार्टीभित्र भागबण्डा मिलाउन नसक्दा कांग्रेसले आफ्नो भागमा परेका ८ मध्ये ४ मन्त्रालयमा मात्र मन्त्री पठाउन सकेको छ । बाँकी ४ मन्त्रालयको नेतृत्वलाई लिएर कांग्रेसभित्र बढेको किचलोले छैटौंपटकको विस्तारमा समेत मन्त्रिपरिषद त अपूर्ण बन्यो नै, कांग्रेसभित्रको ध्रुवीकरण झन् बढेको छ ।

सभापति शेरबहादुर देउवाले संस्थापन इतर समूहलाई २ मन्त्रालय दिएर बाँकी ६ मन्त्रालयमा आफू पक्षका नेतालाई मन्त्री बनाउने तयारी गरेका थिए । तर इतर पक्षले ३ मन्त्रालय नपाए सरकारमा नजाने धम्की दियो । यस्तै मन्त्री क कसलाई बनाउने भनेर नाम पनि दिएन । त्यसैले देउवाले अन्तिम समयमा चार जनालाई मात्र सरकारमा पठाए । चैत १७ पछि देउवाले इतर समूहलाई २ मन्त्री र १ राज्यमन्त्री दिन तयार रहेको सन्देश पठाए । तर इतर समूहले ३ मन्त्रालयको बटमलाइनबाट पछि नहट्ने अडान कायमै राखेको छ ।

सभापति देउवा इतर समूहलाई ३ मन्त्रालय दिन तयार छैनन् । संसदीय दल र केन्दीय समितिमा रहेको अंक गणितलाई आधार मानेर देउवा इतर समूहलाई धेरै महत्त्व नदिने निष्कर्षमा पुगेका हुन् । अर्को कुरा, आफ्नो समूहका रहेका नेतालाई मन्त्री बनाउँछु भनेर दिएको वचनले पनि देउवालाई इतर समूहप्रति उदार हुनबाट रोकेको छ ।कांग्रेसमा सरकारमा सहभागी हुँदा मात्र होइन, भातृ संस्थामा मनोनयन गर्दासमेत भागबण्डा गर्ने प्रथा यिनै सभापति देउवाले बसालेका हुन् । गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति हुँदा संस्थापन पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग खोज्ने परिपाटीको सुरूवात देउवाले गरेका थिए । यिनै देउवाले राजाबाट ठूलो भाग हात पार्न कांग्रेसलाई विभाजनसमेत गरिदिएका थिए ।

देउवाको त्यही स्थानमा अहिले शेखर कोइराला आइपुगेका छन् । हालको दाहाल–देउवा गठबन्धनले लोकतान्त्रिक व्यवस्था र अर्थव्यवस्था नै धराशयी बनाउँदै छ । राज्यका कुनै पनि संस्था सही ढंगले चल्न सकेका छैनन् । महँगी र अभावले थिचिएका उपभोक्ताको आक्रोश बजारमा जुनसुकै बेला हुलदंगामा परिणत हुने जोखिम छ । त्यो अवस्था आउन नदिन शेखर कोइरालाले बोल्ड निर्णय लिने बेला भएको छ ।देश र व्यवस्था जोगाउन अब दाहाल–देउवा गठबन्धन भत्काउने र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यका लागि हात बढाउने बेला भएको छ । यसका निम्ति शेखर कोइरालाले पार्टी फुटाउनसमेत तयार हुनुपर्छ । यो हदसम्मको अप्रिय निर्णय लिन यसकारण पनि ढिला गर्नुहुँदैन कि स्वर्णिम वाग्लेले जस्तै अरु कांग्रेसीहरु पालैपालो राष्ट्रिय स्वतन्त्र पार्टीमा नजाऊन् । उस्तै परे गगन थापा समेत स्वतन्त्र पार्टीमा जान सक्ने आकलन अहिले राजनीतिक बजारमा भइरहेको छ ।

राजनीतिमा अहिले नपत्याउँदो बाढी आएको छ । स्वतन्त्र पार्टीको बाढीले कसलाई कतिखेर बगाउँछ, ठेगान छैन । यस्तै बाढी २०६३ पछि मधेसी दलको बाढी आएको थियो । त्यसबेला कांग्रेस र एमालेका ठूल्ठूला नेता ती क्षेत्रीय दलमा मिसिन पुगेका थिए, आफ्नो राजनीतिक अस्तित्व जोगाउन । गगन थापाहरु पनि आफ्नो राजनीतिक भविष्यको सुरक्षाका लागि जुनसुकै बेला अप्रिय निर्णय लिन सक्नेछन् । त्यसअघि नै कांग्रेस जोगाउनका लागि शेखर कोइरालाले अप्रिय निर्णय लिनुपर्ने भएको छ ।

देउवा र उनको परिवारलाई कांग्रेसबाट अलग नगरेसम्म न कांग्रेस सुध्रिनेछ, न त देशको अवस्था नै बदलिनेछ । अस्थिरता र गोलमालको फाइदा उठाउँदै ३२ सिट भएको माओवादीले कांग्रेस–एमालेजस्ता शक्तिलाई कज्याउने अनि राष्ट्रको ढुकुटी खोक्रो बनाउने अवस्थाको अन्त्यका लागि पनि शेखरले ओलीसँग हात मिलाउनु जरुरी छ । ओलीले पनि शेखरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरी दीर्घकालीन साझेदारीका हात बढाउनुपर्छ । सम्भवतः वैशाख १० को उपनिर्वाचनपछि देशको राजनीति त्यही दिशातिर उन्मुख हुनेछ ।