कलाकारलाई गाली गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी

काठमाडाैँ-कलाकारलाई गाली गरे कानुनी उपचार खोज्ने चेतावनी चलचित्रकर्मीहरुले दिएका छन् ।

चलचित्रकर्मीलाई गाली गरे गाली गर्नेलाई कानुनी दायरामा ल्याउने नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ वटा संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै चेतावनी दिएका हुन् ।

नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ती जारी गर्दै कारबाहीको चेतवानी दिएका  हुन् ।

कलाकारहरुलाई निरन्तर गाली आइरहेको भन्दै चलचित्रकमीहरुले नेपालबाट गाली गर्नेलाई नेपालको साइबर कानुन अनुसार र विदेशबाट गाली गरेको अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता सबैलाई भए पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्नु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु कसैको पनि अधिकार नभएको भन्दै यस्ता क्रियाकलाप अक्षम्य हुने चलचित्रकर्मीको भनाइ छ ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई महानायक नस्वीकारेको भन्दै उनलाई सामाजिक सञ्जालमा निरन्तर गाली आएपछि चलचित्रसँग सम्बन्धित संघसंस्थाले कलाकारको मानमर्दन हुने गरि गाली गलौज गरे कानुनी उपचार खोजिने चेतावनी दिँदै संयुक्त विज्ञप्ती निकालेका हुन् ।