काठमाडौँ उपत्यकाका १७ ठाउँबाट कोरोना खोप लगाइने, यी हुन् खोप केन्द्रहरु

कोरोना विरुद्धको ‘कोभिसिल्ड खोप काठमाडौँ उपत्यकामा १७ खोप केन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप अभियानको भर्चुअल शुभारम्भ गर्नेछन् ।

उपत्यकाका १७ वटै खोप केन्द्र अस्पताललाई बनाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् ।

काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी अस्पताल, सहिद गंगालाल अस्पताललगायत छन् । ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहनेछन् ।

भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा खोप दिइनेछ । खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको छ । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ दिइनेछ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय खोप केन्द्रमार्फत खोप प्रदान गर्ने तयारी छ ।

पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गरिनेछ छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिनेछ ।

प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको लागि खोप ल्याउने तयारी पनि सरकारले गरिरहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमित अनुगमनसमेत गर्नेछ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । कोभिसिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।
लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ ।
पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।