सिराहामा भदौ २७ सम्म निषेधाज्ञा थप, ‘एक घर एक पीसीआर जाँच

सिराहा — सिराहा जिल्लाको गोलबजार नगरपालिकाले नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ‘एक घर एक पीसीआर जाँच’ अभियान सुरुगरेको छ ।

गोलबजार नगर कार्यपालिकाको आइतबार बसैको बैठकमा ‘एक घर एक पीसीआर जाँच’ अभियान चलाउने निर्णय गरेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।  निर्णय अनुसार कोभिड–१९ पहिचानको एकमात्र आधार पीसीआर परीक्षण नै हो ।
सिराहाको गोलबजारमा पछिल्लो दुई दिन अगाडी गोलबजार नगर क्षेत्रमा १० महिला सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोलबजार नगर कार्यपालिकाले  १ देखि १३ नं वडामा पर्ने हरेक गाउँ टोलमा पीसीआर जाँच बढाउने निर्णय सँगै मंगलबारबाट स्वास्थ्यकर्मीहरूको टोलीले समुदायस्तरमा स्वाब संकलन गर्ने थालेको नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले बताए ।

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार कोरोना संक्रमितको स्थानीयस्तरमै उपचारका लागि नगरपालिकाले ५० शय्याको आइसोलेसन पनि सञ्चालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिराहाले निषेधाज्ञा २७ भदौसम्मका लागि बढाएको छ । प्रशासनले ३२ साउनदेखि जारी गरेको निषेधाज्ञा १५ भदौ राति १२ बजे सकिएपछि मंगलबारबाट पुन थपिएको हो ।