पार्टीभित्रकै अविश्वासले छट्पटिदै प्रधानमन्त्री ओली, प्रतिपक्षको साथ खोज्दै
काठमाडौं । आफ्नै पार्टीभित्र चर्को असन्तुष्टि र अविश्वास बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको साथ खोजेका छन् । आईतबार ओलीले बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर सरकार सञ्चालनका लागि सहयात्रा गर्न आग्रह समेत गरेका थिए ।
अहिले नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली छटपटिएका हुन् । उनले देउवासँग सरकार सञ्चालनका लागि सहयात्रा गर्न सहयोग गर्न आग्रह समेत गरेका थिए ।
उनले बरु आफुले जे गर्न र दिन पनि तयार भएको देउवासँगको भेटमा बताएको स्रोतको दाबी छ । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले सत्ताका लागि प्रमुख प्रतिपक्षलाई समेटेर अघि बढ्न लागेका हुन् ।
ओलीले विभिन्न ८ ओटा मन्त्रालयल दिने गरी कांग्रेससँग सहयात्रा गर्न आफु तयार रहेको देउवासँगको भेटमा बताएका थिए ।
सभापति देउवाले भने ओलीको कुरामा सहमति जनाएपनि ठोस निष्कर्ष पार्टीमा छलफल गरी अघि बढ्ने आश्वासन दिएका थिए । झन्डै ४ घण्टा लामो बालुवाटारमा भएको दुई नेताको छलफलमा पछिल्लो पटक नेकपाभित्र देखिएको विवाद र सरकारको काम गराइएको प्रवृत्तिका बारेमा कुराकानी भएको थियो ।
देउबाले पछिल्लो पटक देखिएको कोरोना महामारी नियन्त्रणमा केन्द्रीत भएर लाग्न र पार्टी एकतामा जोड दिए ओलीलाई आग्रह समेत गरेका थिए ।
प्रधानमन्त्री ओली पार्टीभित्रकै नेताहरुले विश्वास गर्न छाडेपछि सरकार कसरी सञ्चालन गर्ने र पार्टीलाई फुट्नबाट कसरी जोगाउने भन्ने ध्याउन्नमा छन् ।
प्रचण्डले ओलीलाइ गत कात्तिक २८ गते सचिवालय बैठकमा उनको आलोचना गर्दै १९ पेजनको प्रस्ताव दर्ता गराएका थिए । ओलीले पनि उक्त प्रस्तावलाई आफ्नो राजनीतिक करियर समाप्त पार्ने गरी आएकाले त्यसको डटेर सामना गर्ने जनाइसकेका छन् ।
त्यसपछि दुवै नेताबीच पत्रयुद्ध नै चल्यो । ओली समुह र प्रचण्ड–नेपाल समुहको बीचको शक्ति सन्तुलनको टकराबले कुन रुप लिने हो अझै भन्न सकिने अवस्था छैन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफ १० दिनभित्र दिने भन्दै प्रतिउत्तर पठाएका थिए । दश दिन सकिन अव २÷३ दिन मात्रै बाँकी छ ।
ओलीले पनि अन्तिम चरणमा आएर प्रतिपक्ष दल नेपाली कांग्रेससँग सरकार सञ्चालनको विकल्प देखेका छन् । यद्यपी, त्यो कति सम्भव छ, हेर्न बाँकी नै छ ।
प्रतिक्रिया