शिक्षाले पार्ने प्रभावको कथामा ‘गौँथली’

 नेपाली कथानक चलचित्र ‘गौँथली’ मा शिक्षाले पार्ने प्रभाव र महत्वलाई देखाइएको डा भोला रिजालले बताउनुभएको छ । उक्त चलचित्रका कथाकार र गीतकारसमेत रहनुभएका डा रिजालले चलचित्रमा देखाइएको कथा आफ्नै परिवारको जीवनसँग प्रेरित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो विवाह हुँदा मेरी श्रीमतीलाई पढाउने भनेर ल्याएका थियौँ, त्यो केही समय रोकियो तर पछि उनले आफ्नो अध्ययन पूरा गरिन् । एउटा गाउँमा अध्ययनरत युवतीको विवाह भएपछि उसले अध्ययनलाई निरन्तरता दिन गर्ने सङ्घर्षको कथा हो । मैले ‘गौँथली’ शीर्षकमै गीति कथानक चलचित्र बनाएको थिएँ, अहिले छोराले संवादसहितको चलचित्र नै बनाएको छ ।”
डा रिजालकै छोरा डा कपिल रिजालले ‘गौँथली’ निर्देशन गर्नुभएको छ । शिक्षाले एउटा व्यक्ति मात्र नभई उसको परिवार, उ बस्ने समाज र उसको राष्ट्रलाई कसरी टेवा पुग्छ भन्ने सन्देशलाई चलचित्रको कथासार बनाइएको निर्देशक रिजालले बताउनुभयो ।

“यसलाई अहिले चलचित्रकै स्वरूपमा ल्याउनुपर्छ भन्ने लागेर पितासँगको सल्लाहमा चलचित्र तयार गरेँ । यसले हामीलाई चलचित्र भवनभित्र हसाउने र रुवाउने काम गर्छ, तर बाहिर निस्किँदा यसले दिने सन्देशले समाजमा पक्कै परिवर्तन ल्याउँछ । यो चलचित्र भवनमा मात्र नभइ समाजसम्म पुगेर छलफल हुने विषयमा तयार गरेका छौँ”, निर्देशक रिजालले भन्नुभयो ।   

अभिनेता अरुण क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिनुभएको छ भने उहाँको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थी झै देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गर्नुभएको छ ।  हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ ।”

उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक रिजालकै पटकथा रहेको उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरीराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो । 

उक्त चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । चलचित्र आगामी साउन १ मा नेपालभर प्रदर्शन हुँदैछ