बनेपाबाट रोशीका लागि छुटेको यात्रुवहाक बस विपी राजमार्गमा दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं– काभ्रेपलाञ्चोकको विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बनेपाबाट रोशी गाउँपालिका स्थित सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् ।

दुर्घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।