गुण्डागर्दीको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बाट टोले गुण्डागर्दीसम्बन्धी कसुरमा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ स्थायी ठेगाना भई हाल कागेश्वरी मनोहरा-५ बस्ने ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङ छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई बिहीबार मध्याह्न १२:०० बजेको समयमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङ यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेको खुलेको छ । उनी २०७०/४/३० गते प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा, मिति २०७५/११/१९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दामा, मिति २०७९/११/८ र २०८०/४/१७ गते प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत पक्राउ परेका प्रहरीले जनाएको छ ।

हाल उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।