विजयसाल सामुदायिक होमस्टेमा पञ्चधातुको मूर्ति स्थापना गरिने
थारू समुदायको पीडा, सङ्घर्ष र मुक्तिको इतिहासलाई जीवन्त बनाउँदै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित विजयसाल सामुदायिक घरबास (होमस्टे)मा पञ्चधातुको मूर्ति स्थापना गरिने भएको छ ।
मुक्त कमैया महिलाको जीवन सङ्घर्ष झल्किने मूर्तिले थारू समुदायका मुक्त कमैया समुदायको इतिहास संरक्षणसँगै पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ३५ लाख लागतमा सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर पञ्चधातुको मूर्ति निर्माण गर्न लागिएको हो । होमस्टे परिसरमा स्थापना गरिने उक्त मूर्तिले जमिन्दारी प्रथाका बेला कमैया महिलाले भोग्नुपरेको कठिन जीवन र त्यसबाट प्राप्त मुक्तिको सन्देश प्रस्तुत गर्नेछ ।
विजयसाल होमस्टे सञ्चालक समितिका अध्यक्ष परदेशनीकुमारी डगौराले मूर्ति निर्माणको कामको ठेक्कामार्फत ललितपुरमा भइरहेको जानकारी दिनुभयो । मूर्ति निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
“हामीले जमिन्दारको घरमा श्रम गर्न बाध्य मुक्त कमैया महिलाको अवस्थालाई झल्काउने पूर्णकदको मूर्ति स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “यसले नयाँ पुस्तालाई विगतको इतिहास बुझ्न र मुक्त कमैया आन्दोलनको महत्वबारे जानकारी दिन सहयोग पुग्नेछ ।” मूर्ति राख्नका लागि करिब रु पाँच लाखको लागतमा फाउन्डेसन निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । असार मसान्तभित्र निर्माण तथा स्थापना कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
थारू समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई संरक्षण गर्दै सञ्चालनमा रहेको विजयसाल होमस्टे अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकले थारू समुदायका मौलिक परिकार, सांस्कृतिक प्रस्तुति र ग्रामीण जीवनशैलीको अनुभव लिन पाउने व्यवस्था छ ।
हाल छवटा घरमा सञ्चालन भइरहेको होमस्टे व्यवसायमा आबद्ध प्रतिपरिवारले मासिक रु ३० देखि रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । होमस्टे सञ्चालकका अनुसार पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ भने विदेशी पर्यटक पनि थारू संस्कृति नजिकबाट बुझ्न यहाँ पुग्ने गरेका छन् ।
बस्तीका अगुवा शोभा खुनाले मूर्ति स्थापनापछि होमस्टेको पहिचान अझ फराकिलो हुने विश्वास व्यक्त गर्नुभयो । “मूर्ति बनेपछि पर्यटकले यहाँ बस्नेमात्र होइन, मुक्त कमैयाको इतिहास पनि बुझ्न पाउनेछन्”, उहाँले भन्नुभयो, “हाम्रा पुर्खाले भोगेको दुःख, सङ्घर्ष र मुक्तिको यात्रालाई पुस्तान्तरण गर्न यो मूर्ति महत्त्वपूर्ण माध्यम बन्नेछ ।”
उहाँका अनुसार मूर्तिले बस्तीको सांस्कृतिक तथा ऐतिहासिक महत्व उजागर गर्नुका साथै स्थानीय युवापुस्तालाई आफ्नो इतिहासप्रति गर्व गर्न प्रेरित गर्नेछ । पर्यटनसँगै इतिहास र संस्कृतिलाई जोड्ने उद्देश्यले निर्माण हुन लागेको उक्त मूर्तिले विजयसाल होमस्टेलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
होल्डिङ सेन्टरका सुकुमवासीलाई तीन प्रकारको बीमा सेवा दिने सरकारको तयारी
फिफा विश्वकप २०२६: उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड
विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी
अचम्मको चोरीकाण्ड : आफ्नै पसलबाट २ करोडको सुन चोरेर प्रहरीसामु गरे नाटक, पर्द…
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
प्रतिक्रिया