रास्वपाका सभापति लामिछानेको भव्य स्वागत गरेर दिल्लीले दिएका अर्थपूर्ण ५ सन्देश

रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण विषयवस्तुका हिसाबले भन्दा पनि स्वागत–सत्कारका कारण बढी चर्चामा छ।

\बहालवाला सरकार प्रमुखकै तहमा जस्तो भारतले उच्चस्तरीय सम्मान दिनुको कारण के होला? नेपाल–भारत सम्बन्धका जानकारहरू यसअघि कुनै पनि दलको प्रमुखले यस्तो सम्मान नपाएको इतिहास पल्टाउँदै यतिबेला त्यसका प्रभावहरू केलाइरहेका छन्। 

सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत गए पनि सभापति लामिछानेलाई राजकीय तहबाट प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटेपछि यो बढी चर्चाको विषय बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वस्तरमा आफ्नो भेटघाटमा सामेल गर्ने टोली (विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विक्रम मिश्री) लाई साथमा राखेर एक घण्टा कुरा गर्नुलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ। 

सरसर्ती हेर्दा सभापति लामिछानेको भ्रमणलाई भारतले यति उच्च सम्मान र महत्व दिनुका पाँच वटा कारण देखिन्छन्।

पहिलो, नेपालमा प्रकट भएको लोकप्रिय जनमतलाई भारत सम्मान गर्न चाहन्छ भन्ने सन्देश दिल्लीले दिन खोजेको छ। इतिहास केलाउँदा हरेक परिवर्तनपछिका सरकार र शक्तिसँग भारतले समुधुर सम्बन्ध राख्ने प्रयास गरेको पाइन्छ। २००७ सालको परिवर्तनपछिका लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्य, ०४६ सालको परिवर्तनलाई साथ, ०५१ मा एमालेको सरकार हुँदा प्रधानमन्त्री मनमोहन अधिकारीलाई ‘हाम्रा स्वतन्त्रता सेनानी’ भनेर भारतमा गरिएको सम्मान, ०६४ को संविधानसभा निर्वाचनपछि माओवादी र पुष्पकमल दाहालसँग बढाएको निकटता र ०७४ मा नेकपा बनेपछि त्यस सरकार र पार्टीसँग बढाएको हिमचिमलाई केलाउँदा लामिछानेको यो भ्रमणबाट भारतले नेपालमा भएका परिवर्तनहरूलाई साथ र सम्मान दिन्छ भन्ने सन्देश दिन खोजेको छ। 

जेनजी आन्दोलनपछि भारत निरन्तर रूपमा चुनावको पक्षमा उभिएको र संक्रमणकालको अन्त्य गर्न प्रयत्नशील रहेको सन्दर्भमा नयाँ शक्तिलाई आफ्ना तर्फबाट अनुमोदनको सन्देश दिन उनको भ्रमणलाई यति धेरै महत्व दिएको बुझ्न सकिन्छ। जनमतबाट करिब दुई तिहाइ मत ल्याएको शक्तिका प्रमुखलाई उच्च सम्मान गर्नु नेपाली जनताको भावनाको उपयोग हो भन्ने बुझेरै भारतले यो सम्मान गरेको छ। 

दोस्रो, भारतले नेपालमा अल्पकालीन र सरकारकेन्द्रित भन्दा दीर्घकालीन र राजनीतिक दलमा अधारित सम्बन्धलाई जोड दिन चाहेको छ। विगतमा आफूले भरोसा गरेको कांग्रेस, अतिरिक्त लगानी गरेको एमाले, १० वर्षसम्म आश्रय दिएर हुर्काएको माओवादी र आफैँले जन्माएको मधेसी दलहरूसँग वाक्क भएको भारत र अहिले शासन गरिरहेको भाजपाले नयाँ सहयात्रीका रूपमा रास्वपालाई साथमा लिन चाहेको देखिन्छ। वैचारिक रूपमा पनि दुवै पार्टी दक्षिणपन्थी लाइनमा रहेको र नेपालको लोकप्रिय शक्ति भएका कारण जनतामा पनि राम्रो सन्देश जाने बुझाइका कारण रास्वपासँग भाजपाले सम्बन्ध प्रगाढ बनाउन चाहेको देखिन्छ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि भाजपा मुख्यालय र उत्तर प्रदेशको विमानस्थलसम्म मोदी र नवीनसँग लामिछानेका होडिङ बोर्ड राखेर भारतले आफ्नो देशमा रहेका प्रवासी नेपालीसहित नेपालमा पनि सन्देश दिन चाहेको छ– हामी रास्वपासँग सहकार्य गर्न तयार छौँ। भारतमा रहेका नेपाली ठूलो मात्रामा रास्वपाका समर्थक छन् भने भारतसँग सीमा जोडिएका प्रायः सबै ठाउँमा रास्वपाले चुनाव जितेको छ। 

नेकपाको सरकार हुँदा उक्त पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणामा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए भने कांग्रेस सत्तामा हुँदा तिनै चौथाइवालेले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुसँग राखी बाँधेका थिए। यसबाट के देखिन्छ भने भाजपा नेपालमा पार्टीगत सम्बन्ध बलियो बनाउन चाहन्छ। अझ जो सत्तामा छ, उसँग राजकीय क्षेत्रमा मात्र नभएर पार्टीगत तहमा पनि सम्बन्ध बलियो होस् भन्ने भाजपाको नीति छ। यही भएर भाजपाले ‘नो बीजेपी’ अर्थात् भाजपा चिन भन्ने अभियान चलाएको छ।  

तेस्रो, आफूसँग सहकार्यमा त्यति इच्छा नदेखाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई चेक गर्नमा भारतले लामिछानेको भ्रमणलाई राम्ररी उपयोग गरेको छ। नेपालमा प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो भ्रमण आफ्नै देशबाट गराउने चलनलाई जारी राख्न चाहेको भारतले बालेन्द्र शाहका हकमा पनि प्रयत्न नगरेको होइन। देशभित्र समेत बोल्न, वार्ता गर्न र छलफल गर्नमा रुचि नराख्ने शाहले भारत जाने चाहना राखेनन्। त्यति मात्र होइन, भारतीय प्रधानमन्त्री मोदीको निम्तो र सन्देश बोकेर आउन लागेका विदेश सचिव विक्रम मिश्रीलाई भेट दिन पनि इन्कार गरेपछि उनको भ्रमण नै रद्द भयो। 

नेपालको नयाँ सरकारका प्राथमिकताहरू के छन्, प्रधानमन्त्रीकै मुखबाट सुन्ने र आफूलाई त्यसैगरी तयार पार्ने भारतको सन्देशका बाबजुद मिश्रीलाई भेट नदिने शाहको निर्णयबाट भारत खुसी हुने कुरै भएन। प्रधानमन्त्री शाहलाई अनौपचारिक रूपमा भेट्न काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवको दौडधुप हालसम्म काम नलाग्दा भारत शाहसँग काम गर्न सकिँदैन कि क्या हो भन्नेतिर उन्मुख भएको छ। यस्तो बेलामा ठूला राष्ट्रले जुन नीति अख्तियार गर्दछन्, भारतले त्यही बाटो अपनाएको छ– रवि लामिछानेमार्फत। सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने। अर्थात्, एकातिर पार्टी सभापतिका रूपमा उनलाई सम्मान गरेको भन्न पाएको छ भने अर्कातिर शाहको विकल्प पार्टीभित्रै छ भनेर सम्झाइदिएको छ। 

चुनाव लगत्तैदेखि लामिछाने स्वयंले भारत जानका लागि इच्छा गरे पनि नाडी छामेर बसेको भारतले यत्तिकै उनलाई राजकीय सम्मान बराबरको खातिरदारी गरेको छैन। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा समेत भारतले यति धेरै महत्व दिनुले बालेन्द्र शाहलाई स्पष्ट सन्देश दिएको छ– तिम्रो सहज विकल्प छ। 

चौथो, नेपालमा बढ्दो अमेरिकी सक्रियता भारतलाई पनि मन परेको छैन। सतहमा चीनलाई चेक गर्नका लागि अमेरिका केन्द्रित रहेको ठानिए पनि नेपालमा बढिरहेका गतिविधिबाट भारत सन्तुष्ट छैन। दुई महिनामा अमेरिकाबाट भएका तीन उच्चस्तरीय भ्रमण, ती भ्रमणका क्रममा नेपालमा उठाइएका विषयवस्तु र अमेरिकाको बढ्दो चासो भारतका लागि सहज नभएको कुरा सहजै बुझ्न सकिन्छ। बाहिरबाट हेर्दा नेपालका सन्दर्भमा भारत र अमेरिका एउटै विन्दुमा रहेको जस्तो ठानिए पनि यिनीहरूका स्वार्थ र योजनाहरू फरक–फरक छन्। 

एकातिर पाकिस्तानलाई इरानसँगको शान्ति वार्तामा मध्यस्थता गर्न दिएर अमेरिकाले भारतलाई चिढ्याएको छ भने अर्कातिर राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनाकुनै विशेष एजेन्डा चीनको भ्रमण गरेर भारतलाई झस्काएका छन्। मानवअधिकार, अल्पसंख्यकका अधिकार, इन्टनरनेट अधिकार, धार्मिक स्वतन्त्रता जस्ता विषयमा अमेरिकाले बारम्बार भारतको आलोचना गर्दै आएको छ भने भारतले त्यसको प्रतिवाद गर्दै आएको छ। मनमा तुस पालेका यी दुई सहयात्रीका बीचमा नेपालमा पनि प्रतिस्पर्धा छ। 

खासमा भारत चाहिँ नेपाललाई आफ्नो प्रभाव क्षेत्र (स्फेयर अफ इन्फ्लुयन्स) ठान्दछ र आफूबाहेक अरुले नेपालमा चलखेल गरेको मन पराउँदैन। अहिले नेपालमा भइरहेका अमेरिकी गतिविधिलाई चेक गर्नका लागि भारतले त्यसभन्दा माथिको देखिने गरी कुनै काम गर्नुपर्ने थियो। प्रधानमन्त्री शाह पश्चिमासँग बढी जोडिएको र पश्चिममा शिक्षित–दीक्षितहरूको शासनसत्तामा चलखेल रहेको बेला भारतले सत्तारुढ पार्टीका सभापतिलाई आफ्नो देशमा रातो कार्पेट बिछ्याएर उनीहरूलाई पनि सन्देश दिन खोजेको छ। 

पाँचौँ, सभापति लामिछानेको भ्रमणका क्रममा नेपाल–भारतबीच थाती रहेका कुनै पनि विषय नउठाएर तिनलाई ओझेल पार्ने प्रयास भारतले गरेको छ। ‘विकास कूटनीति’ भन्ने नयाँ शब्दावली अघि सारेका लामिछानेले भारतसँग नेपालका थाती रहेका कुनै पनि विषय नउठाउनु संयोग मात्र होइन। अझ उनी त्यहीँ छँदै भ्रमण तय भएर भारत पुगेका उनी निकट परराष्ट्रमन्त्री शिशिर खनालले त जानेर हो वा नजानेर हो, ‘हामीले कुनै पनि बोझ बोकेका छैनौँ’ भनेर इतिहासदेखि थाती रहेका विषयहरूलाई हलुका बनाइदिएका छन्।

सभापति लामिछानेको भ्रमणका क्रममा नेपाली अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै कुरा उठेन। साथै, पराराष्ट्रमन्त्री खनालले भारत भ्रमणका पूर्वसन्ध्यामा ईपीजीको प्रतिवेदनको चाबी बुझे पनि भ्रमणका क्रममा एक शब्द पनि उठाएनन्। यी कुनै संयोगका कुरा होइनन्। कूटनीतिक भेटघाटमा केके विषय उठाउने भन्नेसमेत पहिल्यै तय हुन्छ। अझ कतिपय सन्दर्भमा टकिङ प्वइन्ट समेत अग्रिम आदान–प्रदान हुन्छ। त्यसैले नेपालले महत्वका साथ उठाउँदै आएका विषयहरूलाई उठाउन छाडेमा स्वतः अडान छाडेको ठहर्ने भएकाले भारतले जानाजान यस भ्रमणका क्रममा ती विषयलाई ओझेल पार्न सफलता पाएको छ। 

यसका साथै भ्रमणका क्रममा सभापति लामिछानेले केही विषयमा परिपक्वता प्रदर्शन गरेका छन्। जस्तो– प्रधानमन्त्री, विदेशमन्त्री र गृहमन्त्रीसँगको भ्रमणका क्रममा उनले कार्यवाहक नेपाली राजदूत डा सुरेन्द्र थापालाई साथमै राखेर राम्रो काम गरेका छन् भने सबै भेटघाटहरू सामूहिक रूपमा गरेका छन्, अरु नेताले जस्तो एकछिन है भन्दै छुट्टै मन्त्रणा गरेनन्। त्यसैगरी, भ्रमणको राम्रो तयारी गरेका रहेछन् भन्ने कुरा भारत भ्रमणकै भोलिपल्ट आफ्ना एजेन्डासहित हिन्दुस्तान टाइम्समा लेख प्रकाशित हुनु र सबै कुराकानीहरू त्यही लेख वरिपरि केन्द्रित हुनुले पनि देखाउँछ। 

अर्को कुरा, विगतमा कतिपय नेताहरूले गर्ने जस्तो लामिछानेले अरु नेताका कुरा लगाउने काम गरेनन्, दिल्लीमा पुगेका नेपालका दलहरूको आलोचना गरेनन् र विकास साझेदारीमा बढी जोड दिए। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।