राप्रपा नेता लोहनीले छाडे पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका निवर्तमान केन्द्रीय अध्यक्ष फणी राज लोहनी (राजु) ले पार्टी परित्यागको घोषणा गरेका छन् । लामो समयदेखि
राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएका लोहनीले पार्टीको वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेता लोहनीले आफ्नो जीवनको सुन्दर समय राप्रपामै बिताएको स्मरण गर्दै आफू राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको एजेन्डामा सदैव अविचलित र कट्टर रहने स्पष्ट पारेका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको सैद्धान्तिक विचलन र नेतृत्वको निरङ्कुश प्रवृत्तिका कारण उत्पन्न परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै उनले पार्टी अब सही दिशामा अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताए ।
लोहनीले पार्टी नेतृत्वले फरक मतलाई निषेध गरेको र बोलेकै भरमा ‘कारबाहीको डन्डा’ बर्साउने गरेको आरोप समेत लगाएका छन् । ‘पार्टीभित्र फरक मतलाई निषेध गर्दै बोल्यो कि कारबाही गर्ने जुन निरङ्कुश चिन्तन थियो, त्यसले एक दिन दुर्घटना निम्त्याउँछ भन्ने निष्कर्षमा म पुगेको थिएँ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि नेतृत्वले नैतिक रूपमा पछि हट्नुको सट्टा उल्टै निमुखा कार्यकर्तामाथि दमन गरेको र संस्थापक नेताहरूको समेत अपमान गरेको लोहनीको दाबी छ । आगामी जेठमा महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयलाई नेतृत्वले ठाडै लत्त्याएको विषयलाई पनि उनले राजीनामाको प्रमुख कारणका रूपमा अघि सारेका छन् । नेतृत्वको अदूरदर्शी कदमले राष्ट्रवादी आन्दोलनलाई समेत घात पुगेको र आफूमाथि व्यक्तिगत रूपमा समेत ठुलो अन्याय भएको उनले बताए ।
पार्टीभित्र रहेर थप शिथिल बन्नुभन्दा अन्तर मनको आदेशअनुसार राप्रपा परित्याग गर्ने निर्णयमा पुगेको बताउँदै लोहनीले भारी मनका साथ यो कदम चालेको उल्लेख गरेका छन् । राप्रपामा रहँदा आफूलाई माया र मार्गदर्शन गर्ने पूर्व अध्यक्षहरू, राप्रपा नुवाकोट जिल्ला समिति र सम्पूर्ण शुभचिन्तकहरूप्रति उनले आभार प्रकट गरेका छन् ।
वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनप्रति समेत विशेष आभार प्रकट गर्दै लोहनीले आफ्नो कसैसँग व्यक्तिगत वैरभाव नरहेको बताएका छन् । भविष्यमा राजनीतिक यात्राका विभिन्न मोडहरूमा पुनः भेट हुन सक्ने र राष्ट्रवादी सहयात्रा जारी रहने सङ्केत गर्दै उनले आजकै मितिबाट पार्टीसँगको आबद्धता अन्त्य भएको घोषणा गरेका छन् ।
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रधानन्यायाधीश शर्माद्वारा न्यायपालिका थप समुन्नत र सबल बनाउने प्रतिबद्धता
कोशी प्रदेशमा पनि बेरुजु बढ्दो
प्रतिक्रिया