इजरायलले लेबनानमा ‘भीषण आक्रमण’ गर्दै, दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
काठमाडौं । इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमणको तयारी गर्दै दक्षिण लेबनानका धेरै स्थानलाई युद्ध क्षेत्र घोषणा गरेको छ । इजरायली सेनाले ती स्थान खाली गर्न आदेश जारी गरेको बीबीसीले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)ले त्यहाँका बासिन्दाहरूलाई सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको जाहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको छ ।
हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आईडीएफले आफूले अत्यधिक बल प्रयोग गरेर कारबाही गर्ने चेतावनी दिएको छ ।
गत अप्रिल १७ मा युद्धविराम लागु भएयताकै यो सबैभन्दा ठूलो क्षेत्र खाली गर्ने आदेश भएको बीबीसीले जनाएको छ । यसले लेबनानी भूभागको करिब १४ प्रतिशत हिस्सा समेटेको बताइएको छ ।
यसअघि बुधबार इजरायलले दक्षिणी लेबनानको प्रमुख सहर टायरमा आक्रमण गरेको थियो । इजरायलले नै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको हिजबुल्लाहले आफ्ना लडाकु र इजरायली सैनिकबीच भिडन्त भएको जनाएको छ ।
बुधबारका यी आक्रमणहरू इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहूले जमिनमा आफ्नो सैन्य अभियान विस्तार गर्ने घोषणा गरेपछि भएका हुन् ।
दक्षिण लेबनानको केही भागमा तैनाथ इसरायली सैनिक तथा उत्तरी इसरायलका सर्वसाधारणलाई लक्षित गरी हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि नेतन्याहूले उक्त घोषणा गरेका थिए ।
आईडीएफले पछिल्लो २४ घण्टामा क्षेत्र खाली गर्नेसम्बन्धी नौवटा चेतावनी जारी गरेको छ, जसले इसरायल–लेबनान सीमामा तनाव थप बढ्ने र पुनः ठूलो संख्यामा मानिसहरू विस्थापित हुनसक्ने त्रास पैदा गरेको छ ।
दक्षिण लेबनानको सबैभन्दा ठूलो सहरमध्ये एक टायरका लागि बुधबार जारी गरिएको आदेशलगत्तै त्यहाँ हवाई आक्रमणहरू गरिएका थिए ।
अधिकारीहरू र मानवीय सहायताकर्मीहरूले राजधानी बेरुतको दक्षिणमा रहेको तटीय सहर सिडोनले अब विस्थापित परिवारहरूको बढ्दो चाप धान्न नसक्ने बताएका छन् । उनीहरूले नागरिकहरूलाई थप पूर्वतर्फ रहेको बेका उपत्यका र माउन्ट लेबनानतर्फ जान आग्रह गरेका छन् ।
यसैबीच, बुधबार नै लेबनानी सञ्चारमाध्यमहरूले दक्षिण लेबनान र पूर्वी बेका उपत्यकामा इजरायलले ठूलो आक्रमण गरेको जनाएका छन् । चौकिन र नबातिह सहरमा चारजनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
प्रतिक्रिया