ग्वार्डिओलालाई भावुक बनाएको क्षण

इंग्लिस फुटबल इतिहासका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक हुन् पेप ग्वार्डिओला । म्यानचेस्टर सिटीको प्रशिक्षकका रुपमा आइतबार आफ्नो अन्तिम खेलमा जिम्मेवारी सम्हाल्दा सुरुमा उनले आफूलाई शान्त राखे । तर अन्ततः उनी भावुक बने ।

खेलको ५९औँ मिनेटमा कप्तान बर्नार्डो सिल्भाको नम्बर २० चौथो अफिसियलको बोर्डमा देखिएपछि ग्वार्डिओलाले आफ्नो भावना रोक्न सकेनन् । पोर्चुगाली प्लेमेकर बर्नार्डो सिल्भा मैदान छाड्दा दुवै टोलीका खेलाडीले ‘गार्ड अफ अनर’ दिए । त्यही क्षण सिल्भासँगै ग्वार्डिओलाका आँखाबाट पनि आँसु बग्न थाले ।

हालका वर्षहरूमा इंग्लिस फुटबलमा सिटीको वर्चस्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका यी दुई व्यक्तित्वले टचलाइनमा एकअर्कालाई अँगालो हाले । प्रिमियर लिगका दुई महान व्यक्तित्वबीचको त्यो भावुक दृश्यलाई फोटोग्राफरहरूले कैद गरे, जुन अब एतिहाद स्टेडियमका गल्लीहरूमा केभिन डी ब्रुने, सर्जियो अगुएरो र याया टुरे जस्ता क्लबका दिग्गजहरूको तस्वीरसँगै सजाइनेछ ।

ग्वार्डिओलाले आफ्नो सेतो टिसर्टले आँसु पुछ्दै अन्तिम जित निकाल्ने प्रयास गरे । तर त्यो सम्भव भएन । बुधबार युरोपा लिग जितेको उत्साहमा रहेको एस्टन भिल्ला सँग २-१ ले सिटी पराजित भयो । यद्यपि खेल सकिएको सिट्टीसँगै मैदान र दर्शकदीर्घामा देखिएको भावनात्मक वातावरणले हारलाई गौण बनाइदियो ।

५५ वर्षीय ग्वार्डिओलाले भने, ‘यो अध्याय सधैं रहनेछ । आज बर्नार्डो निकै भावुक भए। रुन मन लागे रोऊ, हाँस्न मन लागे हाँस । भावना व्यक्त गर्नुपर्छ । म सामान्यतया रुन्नँ, तर अरूलाई रोएको देखेपछि म पनि रुन्छु ।’

ग्वार्डिओला युगको अन्तिम झलक हेर्न समर्थकको भीड खेलअघि क्लब पसलहरूमा उनको तस्वीर भएका झण्डा र स्कार्फ किन्ने समर्थकहरूको भीड लागेको थियो । सिटीको टोली बस स्टेडियम प्रवेश गर्दा सयौँ समर्थकले अन्तिम पटक आफ्ना प्रशिक्षकलाई हेर्न लाइन लागेका थिए ।

ग्वार्डिओलाको नेतृत्वमा सिटीले ६ पटक प्रिमियर लिग, १ पटक च्याम्पियन्स लिग, ३ एफए कप र ५ लिग कप जित्यो । क्लबले इतिहासमा यस्तो सफलता यसअघि कहिल्यै प्राप्त गरेको थिएन ।


खेलअघि पूर्वी स्ट्यान्डमा विशाल ब्यानर प्रदर्शन गरिएको थियो, जसमा लेखिएको थियो,’पेपासँग १० वर्ष – खेल परिवर्तनकर्ता, इतिहास निर्माता, सिटी सधैंका लागि।’

ग्वार्डिओलाको नाम अब एतिहाद स्टेडियममा सदाका लागि रहनेछ । स्टेडियमको विस्तार गरिएको उत्तर भागलाई ‘पेप ग्वार्डिओला स्ट्यान्ड’ नाम दिइएको छ ।
अन्तिम विदाइ भाषणका क्रममा ग्वार्डिओलाको आवाज भावुक बन्यो । समर्थकहरूले ‘हामीसँग ग्वार्डिओला छन्’ भन्दै अन्तिम पटक गीत गाए । त्यसपछि उनले सम्मानस्वरूप मैदानको अन्तिम चक्कर लगाए र टनेलतर्फ लागे ।

उनले भने,’ उपाधिभन्दा पनि सम्झनाहरू महत्त्वपूर्ण छन् । यहाँका सबै मानिस असाधारण छन् । जीवन विभिन्न चरणहरूको यात्रा हो, र हामीले अविश्वसनीय समय बितायौँ । यदि मसँग अझ ऊर्जा हुन्थ्यो भने म यहीँ बस्ने थिएँ । तर अब नयाँ व्यक्तिले यो जिम्मेवारी लिनुपर्छ ।’
आइतबारको खेलसँगै ग्वार्डिओला सिटीको इतिहासमा सबैभन्दा धेरै खेल प्रशिक्षकका रूपमा रहने व्यक्ति बने । उनले ५ सय ९३ खेलमध्ये ४ सय १६ खेल जिते, जुन ७०.२ प्रतिशत जित दर हो ।

उनको सम्भावित उत्तराधिकारीका रूपमा एन्जो मारेस्काको नाम चर्चामा छ । पूर्व स्ट्राइकर क्रिस सटनले समर्थकलाई मारेस्काप्रति धैर्य गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘यो सर एलेक्स फर्गुसनपछि डेभिड मोयेसले म्यानचेस्टर युनाइटेड सम्हालेको अवस्थाजस्तै हो । पेप ग्वार्डिओलापछि टोली सम्हाल्नु लगभग असम्भव काम हो ।’

ग्वार्डिओलाले पनि आफ्नो उत्तराधिकारीलाई सल्लाह दिँदै भने,’उनीहरू आफ्नै शैलीमा अघि बढ्नुपर्छ । उनीहरूको खेल्ने शैली, संवाद गर्ने तरिका , सबै आफ्नै हुनुपर्छ ।’

सिल्भा र स्टोन्सलाई पनि भावुक बिदाइ


ग्वार्डिओलासँगै कप्तान बर्नार्डो सिल्भा र डिफेन्डर जोन स्टोन्सले पनि अर्को महिना सम्झौता सकिएसँगै क्लब छाड्नेछन् । दुवैलाई ग्वार्डिओलाले फ्रेम गरिएको जर्सी उपहार दिएका थिए ।

सिल्भाले भने,’सिटीप्रतिको मेरो भावना शब्दमा व्यक्त गर्न निकै गाह्रो छ । मैले जीवनमा फेरि यस्तो माया पाउनेछु जस्तो लाग्दैन । यो क्लब सधैं मेरो परिवार रहनेछ ।’

स्टोन्सले थपे,’तपाईंहरूले दिएको मायाप्रति म कृतज्ञ छु । यो मेरो सपनाजस्तै यात्रा थियो ।’ पूर्व कप्तान इल्काय गुन्डोगान र गोलकिपर एडर्सन पनि अन्तिम सम्मान ग्रहण गर्न एतिहाद फर्किएका थिए ।


साथै ग्वार्डिओलाका सहायक मानेल एस्तियार्टे, फिटनेस प्रशिक्षक लोरेन्जो बुएनाभेन्टुरा र गोलकिपिङ प्रशिक्षक जाबी मान्सिसिदोरलाई पनि सम्मान गरिएको थियो ।

योसँगै एतिहादमा एक ऐतिहासिक युगको औपचारिक अन्त्य भएको छ । यस्तो युग, जसलाई ग्वार्डिओला, उनका खेलाडी र सिटी समर्थकले सधैं सम्झिरहनेछन् ।