युद्धको हतियार बन्दै भोकमरी, बढ्दै छ ‘खाद्यसम्बन्धी हिंसा’
पछिल्लो समय भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गर्न थालिएको नयाँ अध्ययनले देखाएको छ । पछिल्ला आठ वर्षमा ‘खाद्यसम्बन्धी हिंसा’ का २० हजारभन्दा बढी घटनाहरूको रेकर्ड गरिएको अध्ययनकर्ता ‘इनसेक्युरीटी इनसाइट’ले उल्लेख गरेको छ ।
यी आक्रमणहरूमा परिवारले दैनिक खाद्यान्न खरिद गर्ने १ हजार २६१ वटा बजारमाथिका आक्रमण तथा खाद्य वितरण प्रणालीलाई लक्षित गरिएका ८६३ घटना समावेश छन्, जसमा कामदारहरू समेत मारिएका थिए ।
अध्ययनले सन् २०१८ मा संयुक्त राष्ट्रसंघको प्रस्ताव २४१७ ले सर्वसम्मत रूपमा नागरिकलाई योजनाबद्ध रूपमा भोकमरीमा पार्ने कार्यको निन्दा गरेयताको अवधिलाई समेटेको छ । यसले गाजा, सुडान, लेबनान र हाइटी लगायतका स्थानहरूमा खाद्य आपूर्तिलाई नियमित रूपमा निशाना बनाइँदै भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिएको देखाएको छ ।
तथ्यांकअनुसार सन् २०१८ यता १५ देशमा खाद्य आपूर्तिलाई जानाजानी निशाना बनाइएका २१ हजार ४०३ घटना फेला परेका छन् । त्यही वर्ष संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले युद्धको रणनीतिको रूपमा मानवीय सहायता रोक्नुलाई अवैध ठहर गर्दै प्रस्ताव पारित गरेको थियो ।
अनुसन्धानकर्ताहरूले कृषियोग्य जमिनमाथि १ हजार ९०९ वटा सैन्य आक्रमण तथा बालीका लागि अत्यावश्यक पानी पूर्वाधारमाथि ५६३ वटा आक्रमण भएको पत्ता लगाएका छन् । यसले ४२ भन्दा बढी देश तथा भूभागको खाद्य सुरक्षामा असर पारेको छ ।
सबैभन्दा धेरै घटना रेकर्ड भएको क्षेत्र अधीनस्थ प्यालेस्टिनी भूभाग हो, जहाँ ९ हजार १३ आक्रमण भएका छन् । त्यसपछि यमनमा १ हजार ८६३ र सुडानमा १ हजार ६०५ आक्रमणमा खाद्य प्रणालीलाई निशाना बनाइएको थियो । सुडानमा पछिल्लो आक्रमणमध्ये एक मंगलबार भएको थियो, जब एउटा ड्रोनले भिडभाडयुक्त बजारमा प्रहार गर्दा २८ जनाको मृत्यु भयो ।
प्रत्यक्षदर्शीहरूका अनुसार पश्चिम कोर्डोफानको घुबैश सहरको मुख्य बजार नागरिकले भरिएको अवस्थामा सेनाले जानाजानी निशाना बनाएको जस्तो देखिएको थियो ।
खाद्य आपूर्तिमाथि बारम्बार आक्रमण भएका अन्य देशमा सिरिया पनि पर्छ, जहाँ १ हजार ५३८ वटा घटना रेकर्ड भएका छन् । तीमध्ये धेरैजसो आक्रमण असदको सत्ता पतन हुनुअघि सरकारी वा रुसी सैन्य बलसँग सम्बन्धित मानिएका छन् ।
त्यस्तै, पश्चिम अफ्रिकी देश मालीमा सत्तारूढ सैनिक शासनले आफ्नो नियन्त्रण कायम राख्न संघर्ष गरिरहँदा १ हजार ४१५ आक्रमण रेकर्ड गरिएका छन् ।
सोमबार संयुक्त राष्ट्रसंघको उक्त प्रस्तावको वार्षिकोत्सवसँगै सार्वजनिक हुने यो अनुसन्धानले बजार, खेतीयोग्य जमिन र खाद्य वितरण प्रणालीमाथि आक्रमणमा ‘उल्लेखनीय वृद्धि’ भएको जनाएको छ ।
‘एक्सन एगेन्स्ट हंगर’की द्वन्द्व तथा भोकमरी अनुगमन प्रमुख जुलिया कोन्तोले भनिन्, ‘गाजा र सुडानको भोकमरीले पछिल्ला दुई वर्षमा विश्वव्यापी समाचार शीर्षक बनाएको छ, तर द्वन्द्वका कारण हुने अधिकांश भोकमरी कहिल्यै चर्चामा आउँदैनन् । समुदायहरू बाँच्न आश्रित प्रणालीमाथि निरन्तर आक्रमण भइरहेका छन् । पशुधन लुटिन्छ, बजार बम हानिन्छ, राहत सामग्री बोकेका लरीहरू रोकिन्छन् ।’
अनुसन्धानकर्ताहरूले खाद्यान्न प्राप्त गर्ने प्रयास गरिरहेका नागरिकहरूलाई पनि बारम्बार निशाना बनाइएको प्रमाण फेला पारेका छन् । अक्टोबर २०२३ देखि सन् २०२५ को अन्त्यसम्म राहत सामग्री प्राप्त गर्न खोज्दा १०,३०० भन्दा बढी मानिस मारिएका वा घाइते भएका छन् ।
क्रिस्टिना विल्लेले अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्दै ‘उल्लंघनविरुद्ध कदम चाल्ने’ जिम्मेवारी रहेको बताइन् । उनले भनिन्, ‘प्रस्ताव २४१७ असफल भएको होइन, सदस्य राष्ट्रहरू त्यसलाई कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय समुदायले विरोध गर्ने दाबी गरेका यिनै कार्य रोक्न आवश्यक राजनीतिक इच्छाशक्ति देखाउन असफल भएका हुन् ।’
विल्लेका अनुसार भोकमरीलाई हतियार बनाउँदा महिलाहरू असमान रूपमा बढी प्रभावित भएका छन् । ‘विशेषगरी महिलाहरू अत्यन्त कठिन निर्णय लिन बाध्य हुन्छन् । खाद्यान्नमा अनिश्चित पहुँचका कारण उनीहरूले लामो दूरी तय गर्नुपर्छ, जसले अस्थिर परिस्थितिमा उनीहरूको सुरक्षामाथि थप जोखिम बढाउँछ,’ उनको भनाइ छ ।
उनले थपिन्, ‘पहिले परिवारको हेरचाह गर्ने भूमिकामा रहेका महिलाहरू अहिले परिवार पाल्ने मुख्य जिम्मेवार बन्न बाध्य भएका छन् । धेरैजसो अवस्थामा आफ्नै खाना घटाएर परिवारका सदस्यलाई प्राथमिकता दिनुपर्छ । पर्याप्त खाना नपाउँदा बालबालिकाहरू खेल्न, सिक्न वा हुर्किन सक्दैनन् र त्यसको असर जीवनभर रहन्छ ।’
युद्ध अहिले पनि भोकमरीको मुख्य कारण बनेको छ, जसका कारण गम्भीर भोकमरी सामना गरिरहेका मानिसमध्ये आधाभन्दा बढी प्रभावित छन् ।
गत महिना संयुक्त राष्ट्रसंघअन्तर्गतका निकायहरूले विश्वव्यापी भोकमरीको ठुलो हिस्सा द्वन्द्वग्रस्त केही सीमित देशहरूमा केन्द्रित हुँदै गएको उल्लेख गरेको थियो । तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका दुई तिहाइ मानिस केवल १० देशभित्र केन्द्रित छन् ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया