डेभिड अलाबाले छाडे रियल म्याड्रिड

काठमाडाैं । विगत पाँच वर्षदेखि रियल म्याड्रिडको रक्षापङ्क्ति सम्हाल्दै आएका अनुभवी डिफेन्डर डेभिड अलाबाले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने औपचारिक घोषणा गरेका छन् ।

३३ वर्षीय अस्ट्रियन कप्तान अलाबा यसै गृष्मकालीन ट्रान्सफर विन्डोमा ‘फ्री एजेन्ट’का रूपमा सान्टियागो बर्नाबेउबाट बिदा भएका हुन्।
सन् २०२१ मा बायर्न म्युनिखबाट फ्री ट्रान्सफरमै म्याड्रिड भित्रिएका अलाबाले क्लबमा छोटो समयमै अमिट छाप छोडेका छन्। पाँच वर्षे बसाईका क्रममा उनले दुई पटक ला लिगा र दुई पटक च्याम्पियन्स लिगसहित कुल ९ वटा मुख्य उपाधि जितेका छन्।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अलाबालाई बिदाइ गर्दै भने, “डेभिड अलाबाले आफ्नो समर्पण र कडा परिश्रमले सबै म्याड्रिड फ्यानहरूको मन जितेका छन्। १४औँ युरोपेली कपको विजय उत्सवका क्रममा उनले देखाएको त्यो ‘आइकोनिक’ छवि (कुर्सी उचालेको दृश्य) क्लबको इतिहासको हिस्सा बनिसकेको छ।”

पछिल्लो दुई सिजन अलाबाका लागि शारीरिक रूपमा निकै कष्टकर रह्यो। सन् २०२५ को सुरुवातमै गम्भीर ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट’चोटको सिकार भएका उनले त्यसपछि पुनरागमन गर्न निकै संघर्ष गर्नुपर्यो। गत अप्रिलमा पुनः घुँडाको चोट भोगेपछि उनी मैदान बाहिरै रहे।

यस सिजन पनि उनले ला लिगामा मात्र १५ खेल खेल्न सकेका छन्, जसमा ४ खेलमा मात्र उनी सुरुवाती रोजाइमा परेका थिए। हाल म्याड्रिडको टोलीमा एन्टोनियो रुडिगर, एडर मिलिटाओ र युवा खेलाडी राउल एसेन्सियो तथा डिन हुसेनको उदयसँगै अलाबाको भूमिका खुम्चिएको थियो।

चोटको समस्या रहे तापनि विश्व फुटबलका ठूला क्लबहरू उनलाई अनुबन्ध गर्न इच्छुक देखिएका छन्। इटालेली क्लब एसी मिलानले उनलाई भित्र्याउन विशेष चासो देखाएको छ। आफ्नो नयाँ क्लबबारे निर्णय लिनुअघि अलाबाले विश्वकपमा अस्ट्रियाको कप्तानी सम्हाल्नेछन्।