ट्रम्पले ‘आजलाई आक्रमण रोकेँ’ भनेपछि इरानबाट यस्तो जवाफ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानमा गर्न लागिएको आक्रमण स्थगन गरिएको घोषणा गरेपछि इरानले टिप्पणी गरेको छ। 

 

ट्रम्पले आज इरानमा हमला सुरु गर्ने योजना रहेको तर कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिन समय मागेकाले रोकिएको दाबी गरेका छन्।

 


यसविरुद्ध इरानको रिभोलुसनरी गार्डका पूर्वकमान्डर मोहसिन रेजाइले कटाक्ष गरेका हुन्।

 

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘उनी आफैँ सैन्य हमलाको मिति तोक्छन्, फेरि आफैँ रद्द गर्छन्। यो अर्थहीन अपेक्षा हो कि इरानी जनता र अधिकारीले आत्मसमर्पण गर्नेछन्। शक्तिशाली सेना र महान् इरानी जनताको साहसले उनीहरूलाई पछि हट्न र हार स्वीकार गर्न बाध्य पार्नेछ।’

 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै स्वीकार्य सम्झौता भएन भने इरानमा ‘ठुलो’ आक्रमण गरिने चेतावनी पनि दिएका छन्।