युक्रेनको राजधानी किभमा रुसले गर्यो ठूलो आक्रमण
काठमाडौं । रुसले आइतबार बिहान युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गरेको छ ।
रुसी नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा भएको आक्रमणको बदला लिने चेतावनीपछि किभमा रुसले ठूलो ब्यालिस्टिक मिसाइल आक्रमण भएको हो । युक्रेनी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पाँचजना घाइते भएका सीबीएस न्युजले जनाएको छ ।
विस्फोटका कारण सरकारी आवासीय भवन थर्किएको थियो भने दर्जनौँ मानिसहरूले सहरको केन्द्रमा रहेको भूमिगत मेट्रो स्टेशनमा शरण लिएका थिए । किभका सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले टेलिग्राममा राजधानीमा ठूलो मात्रामा ब्यालिस्टिक मिसाइल आक्रमण भएको जनाएका छन् ।
किभका मेयर भिटाली क्लित्स्कोले पाँचजना घाइते भएको र तीमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले ड्रोन आक्रमण अझै जारी रहेको र ब्यालिस्टिक मिसाइलको खतरा कायम रहेको भन्दै नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गरेका छन् ।
यसअघि रुसले आफ्नो नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा भएको घातक आक्रमणका जिम्मेवारहरूलाई सजाय दिने चेतावनी दिएको थियो । त्यसपछि युक्रेनी अधिकारीहरू तथा किभस्थित अमेरिकी दूतावासले राजधानीमा ठूलो आक्रमण हुन सक्ने चेतावनी जारी गरेका थिए ।
मेयर क्लित्स्कोका अनुसार किभको उत्तर–पश्चिममा रहेको पोडिल्स्की जिल्लाको एक गैर–आवासीय क्षेत्रमा मिसाइलका भग्नावशेष खसेपछि त्यहाँ मेडिकल टोली परिचालन गरिएको थियो । उनले नजिकैको शेभचेन्किभ्स्की जिल्लामा पनि एउटा आवासीय भवन नजिक आक्रमणका कारण आगलागी भएको जानकारी दिएका छन् ।
युक्रेनी सेनाले रुस नियन्त्रित पूर्वी क्षेत्रमा ठूलो संख्यामा ड्रोन आक्रमण गरेपछि किभले आफूविरुद्ध व्यापक रुसी मिसाइल आक्रमण हुन सक्ने आशंका पहिले नै व्यक्त गरेको थियो ।
रुसका अनुसार उक्त युक्रेनी ड्रोन आक्रमणले एउटा कलेजको छात्रावासमा प्रहार गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।
बिहीबारदेखि शुक्रबार रातिसम्म गरिएको उक्त ड्रोन आक्रमण पछिल्ला केही महिनायताकै सबैभन्दा घातक युक्रेनी आक्रमणहरूमध्ये एक मानिएको छ ।
यस आक्रमणले रुस नियन्त्रित लुहान्स्क क्षेत्रको स्टारोबिल्स्कमा ४२ जनालाई घाइते भएका थिए भने धेरै मानिसहरू भग्नावशेषभित्रै थुनिएका थिए ।
युक्रेनले भने नागरिकहरूलाई लक्षित गरिएको आरोप अस्वीकार गर्दै आफूहरूले स्टारोबिल्स्क क्षेत्रमा तैनाथ रुसी ड्रोन युनिटमाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया