इरानसँगको वार्ता सकारात्मक रहेको ट्रम्पको संकेत, भने- धेरै हदसम्म सम्झौता तय भइसक्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता धेरै हदसम्म तय भइसकेको बताएका छन् । उक्त सम्झौताका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले बताएका छन् ।

ट्रम्पले शनिबार पनि सम्झौताबारे थप विवरण खुलाएनन् । तर, त्यसमा होर्मुज जलमार्ग खुलाउने विषय समावेश हुने जानकारी दिए । उनले सम्झौताका अन्य विस्तृत विवरण सार्वजनिक नगरे पनि इरानलाई आणविक हतियार प्राप्त गर्नबाट पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिए ।

“संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान र उल्लेख गरिएका अन्य विभिन्न देशहरूबीच अन्तिम रूप दिन बाँकी रहेको एउटा सम्झौता धेरै हदसम्म तय भइसकेको छ," ट्रम्पले सामाजिक संजाल ट्रुथमा लेखेका छन्, "अहिले सम्झौताका अन्तिम पक्ष तथा विवरणमाथि छलफल भइरहेको छ र छिट्टै घोषणा गरिनेछ ।”

यसअघि इरानबाट पनि सम्झौताबारे केही सकारात्मक संकेत आएको थियो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार सरकारी टेलिभिजनसँगको कुराकानीमा पछिल्लो एक हप्तामा अमेरिका र इरानका अडानहरू एकअर्कासँग नजिकिँदै गएको बताएका थिए । तर, प्रमुख मुद्दाहरूमा अन्तिम सहमति भइसकेको अर्थमा यसलाई बुझ्न नहुने बताएका थिए ।

बकाईले इरानको उद्देश्य १४ बुँदाहरू समेटिएको एउटा रूपरेखा मा आधारित सम्झौतामा पुग्नु रहेको बताए । हाल समझदारीपत्रलाई अन्तिम रूप दिने प्रक्रिया जारी रहेको र त्यसपछि ३० देखि ६० दिनभित्र थप वार्ता हुन सक्ने र अन्ततः अन्तिम सम्झौतामा पुग्न सकिने उनले बताए ।