गल्फ खेल रद्द गरेर अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, फेरि अमेरिका-इरान तनाव बढ्ने संकेत

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको गल्फ खेल रद्द गरेर अचानक ह्वाइट हाउस फर्किएका छन्। यसले अमेरिका र इरानबिच फेरि तनाव हुने संकेत दिएको छ। 

मिडिया रिपोर्टहरूका अनुसार, अमेरिकाले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी गरिरहेको हुन सक्छ।

 

सीबीएस न्युजले दाबी गरेको छ, ‘ट्रम्प प्रशासनले नयाँ आक्रमणको योजना बनाउने विचार गरिरहेको छ, यद्यपि अहिलेसम्म कुनै अन्तिम निर्णय भएको छैन।’

रिपोर्टहरूका अनुसार, अमेरिकाका धेरै जना वरिष्ठ प्रशासन तथा सैन्य अधिकारीहरूले पनि आफ्नो बिदा एवं बिदा योजना रद्द गरेका छन्।

यसैबिच इरानको सरकारी समाचार एजेन्सी तस्निमले इरानी सेना कुनै पनि शत्रुको दुस्साहसको जवाफ दिन पूर्ण रूपमा तयार रहेको दाबी गरेको छ।

यसअघि यही जेठ ५ गते ट्रम्पले इरानमा हमला सुरु गर्ने योजना कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशको अनुरोधमा रोकिएको दाबी गरेका थिए।