अमेरिका र इरानबीच सम्झौताको प्रयास तीव्र

काठमाडौं । अमेरिका र इरानबीच सम्भावित ‘ठूलो’ सम्झौताका निम्ति पर्दा पछाडि तीव्र कूटनीतिक वार्ता भइरहेको जनाइएको छ । दुवै देशले एकार्कालाई सन्देश तथा लिखित प्रस्ताव आदानप्रदान गरिरहेका एनडीटीभीले उल्लेख गरेको छ ।

अर्कोतर्फ, अलजजिराले इरानी अधिकारीलाई उद्धृत गर्दै अमेरिका र इरान सम्झौताका निम्ति निकैनजिक पुगेका जनाएको छ । यद्यपि, अन्तिम सहमति भइसकेको छ वा छैन भन्ने निष्कर्ष निकाल्न अझै हतार हुनेछ ।

यसैबीच, पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी इरान भ्रमणमा रहेका र उनले होर्मुज जलमार्गको अवस्थाबारे छलफल गरिरहेका जनाइएको छ । तर, अन्तिम सम्झौता कहिलेसम्म टुंगिनेछ भन्ने विषय अझै अनिश्चित छ । यो कूटनीतिक गतिविधि अमेरिकाको हतियार भण्डारमा कमी देखिन थालेको समयमा भइरहेको छ ।

द वासिङटन पोस्टको एक रिपोर्टअनुसार, इजरायलको रक्षा गर्ने क्रममा अमेरिकाले आफ्ना मिसाइल प्रतिरोधी प्रणालीको अत्यधिक प्रयोग गरेको छ ।

अमेरिकाले इजरायललाई जोगाउन २०० भन्दा बढी ‘थाड’ इन्टरसेप्टर मिसाइल प्रहार गरेको जनाइएको छ । साथै, समुद्रमा तैनाथ युद्धपोतहरूबाट १०० भन्दा बढी ‘स्ट्यान्डर्ड मिसाइल–३’ र ‘स्ट्यान्डर्ड मिसाइल–६’ पनि प्रहार गरिएको थियो ।

यसका कारण पेन्टागनसँग रहेको कुल मिसाइल भण्डारको करिब आधा हिस्सा सकिएको रिपोर्टमा उल्लेख छ । इजरायलले आफ्नो सुरक्षाका निम्ति अमेरिकाको तुलनामा कम मिसाइल प्रयोग गरेको थियो । इजरायलले करिब १०० वटा ‘एरो’ र लगभग ९० ‘डेभिड्स स्लिङ’ इन्टरसेप्टर मात्र प्रयोग गरेको जनाइएको छ ।

नाम नखुलाउने सर्तमा अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार, हतियारको यो कमीले विश्व सुरक्षासम्बन्धी अमेरिकाको क्षमतामाथि प्रश्न उठाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा अडान दोहोर्‍याएका छन् । उनले इरानलाई सम्वद्र्धित युरेनियम राख्न अनुमति नदिइने बताएका छन् । ट्रम्पले अमेरिकाले उक्त युरेनियम आफ्नो नियन्त्रणमा लिएर नष्ट गरिदिने उल्लेख गरेका छन् ।

उनले इरानसँगको विवाद चाँडै अन्त्य हुने जिकिर गरेका छन् । विवाद समाप्त हुनेबित्तिकै पेट्रोल र डिजेलको मूल्यमा उल्लेखनीय गिरावट आउने अपेक्षा छ ।