बाल सुरक्षा कानुन उल्लङ्घन गरेको मामिलामा मस्कको एक्स अस्ट्रेलियामा दण्डित

सिड्नी । अस्ट्रेलियाको एउटा अदालतले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई जरिवाना तिर्न आदेश दिएको छ । बाल सुरक्षासम्बन्धी अनलाइन नियमको पालना नगरेको भन्दै एक्सलाई ६ लाख ५० हजार अस्ट्रेलियन डलर जरिवाना तिर्न आदेश दिइएको हो । अदालतले एक्सलाई ४५ दिनभित्र जरिवानाको रकम बुझाउन भनेको छ ।

यो मुद्दा सन २०२३ मा सुरु भएको थियो । अस्ट्रेलियाको इन्टरनेट नियामक ईसेफ्टी कमिशनरले सामाजिक सञ्जालमा बाल यौन शोषणसम्बन्धी सामग्री नियन्त्रण गर्न एक्सले के–के कदम चालेको छ भन्ने जानकारी मागेको थियो । तर त्यतिबेला कम्पनी ट्विटरबाट एक्समा रूपान्तरण भइरहेका कारण कम्पनीले अनुरोध पालना गर्न आवश्यक नरहेको दाबी गरेको थियो ।

एक्सले आफ्नो गल्ती स्वीकार गरेपछि अदालतले बिहीबार जरिवाना तिर्न आदेश दिएको हो । साथै अदालतले कम्पनीलाई नियामकको कानुनी खर्चका लागि थप १ लाख अस्ट्रेलियन डलर तिर्न पनि आदेश दिएको छ । न्यायाधीश माइकल ह्वीलहानले ठूलो कम्पनी भएकाले उच्च जरिवाना नै प्रभावकारी हुने बताएका छन् । जरिवाना व्यवसाय सञ्चालनको सामान्य खर्चजस्तो मात्र देखिनु नहुनेमा उनले जोड दिएका थिए ।

एक्स र अस्ट्रेलियाली नियामकबिच यसअघि पनि विभिन्न विषयमा विवाद हुँदै आएको छ । विशेषगरी १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नीति र सिड्नीको चर्चमा भएको आक्रमणको भिडियो हटाउन अस्वीकार गरेको विषयमा दुवै पक्षबिच तनाव देखिएको थियो । इसेफ्टीका आयुक्त जूली इनम्यान ग्रान्टले सन २०२४ मा बीबीसीसँग कुरा गर्दै मस्कले आफूलाई सेन्सरशिप कमिसार भनेपछि आफूले ज्यान मार्ने धम्की पाएको र आफ्ना बालबालिकाको व्यक्तिगत जानकारी सार्वजनिक गरिएको बताएकी थिइन् । बिहीबार जारी वक्तव्यमा ग्रान्टले प्रविधि कम्पनीहरूलाई जवाफदेही बनाउन पारदर्शिता अत्यन्त आवश्यक रहेको बताएकी छिन् ।