पदाधिकारी हटाएपछि दैनिक स्वास्थ्य संस्थामा कठिनाइ, कामकाज नरोक्न विभागीय प्रमुखलाई निर्देशन

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालका पदाधिकारी हटाएपछि दैनिक कामकाजमा कठिनाइ आएको छ। दैनिक कामकाजमा अवरोध आउन नदिने सरकारले विभागीय प्रमुखलाई निर्देशन दिएको छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेसँगै सार्वजनिक पदमा वहाल पदाधिकारी पदमुक्त भएका छन्। त्यसै अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालका पदाधिकारी पनि पदमुक्त भएका छन्। 

एकै पटक पदाधिकारी पदमुक्त भएपछि दैनिक कामकाजमा कठिनाइ भएको छ। स्वास्थ्य उपचार सेवा, दैनिक प्रशासनिक कार्य तथा प्राज्ञिक शैक्षिक गतिविधिमा समस्या हुन थालेको छ। 

यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गरी दैनिक कामकाजमा अवरोध आउन नदिन पदमुक्त नभएका पदाधिकारी एवं सम्बन्धित निकायका विभागीय प्रमुखलाई काम गर्न भनेको छ। ‘स्वास्थ्य उपचार सेवा, दैनिक प्रशासनिक कार्य तथा प्राज्ञिक शैक्षिक गतिविधिमा कुनै अवरोध आउन नदिन पदमुक्त नभएका अन्य पदाधिकारीहरू एवं सो निकायका सम्बन्धित विभागीय प्रमुखहरूले उक्त कार्य दैनिक रुपमा सञ्चाल गर्न गराउन हुन यो सूचना जारी गरिएको छ,’ मन्त्रालयले भनेको छ। 

यसमा कुनै समस्या भएमा मन्त्रालयमा सम्पर्क गर्न पनि भनिएको छ। अस्पतालमा हुने उपचार सेवलाई प्रभाव पर्न नदिन पनि सचेत गराइएको छ। 

स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘अस्पतालहरूमा हुने उपचार सेवा र शैक्षिक कार्यक्रममा कुनै पनि नकारात्मक प्रभाव पर्न नदिन सम्बन्धित सबैले जिम्मेवारपूर्वक कार्य गर्न यसै सूचनामार्फत अनुरोध छ।’