ओलीको कदम मधेशमा ब्याकफायर, प्रदेश प्रमुखपछि सभामुख पनि गुमाउदै

एमाले अध्यक्ष केपी शर्मा ओलीको कदम मधेश प्रदेशमा ब्याकफायर भएको छ। आफ्नो पार्टी एमालेको कोटामा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीलाई प्रयोग गरेर मुख्यमन्त्री लिइएको थियो । तर, यो घटनाले कांग्रेस पनि बिच्किएपछि एमालेले मधेशमा प्रदेश प्रमुख पद मात्र गुमाएको छैन, अब सभामुख पनि गुमाउने निश्चित भएको छ।

२२ कात्तिकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने भएपछि राजीनामा दिए। यो घटनासम्म कांग्रेस र एमाले साथमै थिए। त्यसअघि यी दुबै दलले कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति गरेका थिए। तर, एमाले एक कदम अगाडि बढेपछि अवस्था विग्रिएको हो।

संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री बनेका सोनलले विश्वासको मत लिएका थिएनन्। उनले राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुखले १६८(२) वा १६८(३) कुन धाराउपधारा प्रयोग गर्ने हो, त्यही अनुसार सरकार गठनको आह्वान गर्नुपथ्र्याे। तर, एमालेको दबाब थेग्न नसकेपछि भण्डारीले २४ कात्तिक बिहान ४ बजे बर्दिबास पुगेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाइदिइन्। उपचार गराउन भनेर काठमाडौं हिँडेकी उनले यादवलाई मुख्यमन्त्री बनाएपछि कांग्रेस सक्रिय भयो। कांग्रेस विपक्षी गठबन्धनमा गएसँगै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई बर्खास्त गरिदिए। यहाँ कांग्रेस कोटाबाट  प्रदेश प्रमुख बनेका छन्।

यादवलाई मुख्यमन्त्री बनाएको रिसमा सात दलले बिहीबार मात्र सभामुख रामचन्द्र मण्डलविरुद्ध पदीय आचारण अनुकुल काम नगरेको भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव लगेका छन्। मण्डल पनि एमालेबाट निर्वाचित हुन्। प्रस्ताव अगाडि बढाउने विषयमा प्रदेशसभा सचिवालय हाताभित्र सांसदहरुमाथि कुटपिट पनि भएको छ।

तर, सभामुख मण्डलले एक दल (एमाले)को निर्देशन बमोजिम पटकपटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थिति विना पनि सभा सञ्चालन गरेको, कार्यव्यवस्था परामर्श समितिको निर्णयविपरित प्रदेश सभामा संसदीय दलको नेतालाई रोष्टम प्रयोग गर्न नदिएको आरोप विपक्षी दलको छ। 

अब यो प्रस्ताव सचिवालयमा दर्ता भएपछि सभामा जानेछ। त्यसपछि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी सम्बन्धी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । त्यस्तो प्रस्ताव पेस गर्ने सूचना सचिवलाई दिनुपर्छ ।  

दुई तिहाइबाट पारित भएमा सभामुख पदमुक्त हुनेछन्। १०७ सदस्यीय रहेको मधेश प्रदेशसभामा अहिले एमालेसँग एक–एक सिटका राप्रपा र संघीय समाजवादी मात्र छन्। यसरी उनीहरुसँग २७ सिट मात्र हुनेछ। विपक्षमा कांग्रेस, जसपा, जनमत,माओवादी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति छन्। उनीहरुसँग पर्याप्त बहुमत छ ।