आईजी सापहरूका स्वार्थका कारण प्रहरीमा कमान्डको व्यर्थ विवाद
संघीयता कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण विधेयकमध्ये नेपाल प्रहरी विधेयक, शिक्षा विधेयक र निजामती सेवा विधेयक पर्छन् । संविधान जारी भई संघीयता कार्यान्वयन भएको १० वर्ष पुग्न लाग्दा समेत यी विधेयक विभिन्न प्रकारका स्वार्थको सिकार बनिरहेका छन् । संसदीय समितिबाट टुंगो लगाइसकेर सदनमा नपुग्दै अपहरण भएका घटना पनि छन् ।
प्रहरी विधेयक पारित नहुँदा सिंगो सुरक्षा क्षेत्र लथालिंग छ । संघीय प्रहरीमा हुनुपर्ने सुधार त भएको छैन नै, प्रदेश प्रहरीको संरचना र सञ्चालन व्यवस्था अन्योलग्रस्त छ । प्रदेशका मन्त्रीहरु आफ्नै प्रहरी चलाउन नपाएकामा छटपटिएका छन् । स्थानीय तहको आफ्नै प्रहरी हुने तर प्रदेशको किन नहुने भन्ने उनीहरुको तर्क छ । तर प्रदेशले आफ्नै प्रहरी सञ्चालन गरेमा संघीय प्रहरीसँग उसको सम्बन्ध र समन्वय कसरी स्थापित गरिन्छ भन्ने दुविधा यथावत् छ ।
प्रहरीमा सबैभन्दा ठूलो विवाद नेतृत्व र नियन्त्रणको हो । आजसम्म कुनै पनि प्रहरी महानिरीक्षक यस्तो छैन जसको नियुक्ति विवादित नभएको नहोस् । आफूलाई मन लागेका बेला चलेखेल गर्न पाइने भएकाले कसैले पनि नियमावलीका कुरा ऐनमा राख्न चाहँदैन ।
लामो समयको अन्योल र विभिन्न स्वार्थहरूको टकरावका बीच केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभामा नेपाल प्रहरी विधेयक दर्ता गराएको छ । माघ १५ गते दर्ता भएको उक्त विधेयकमाथि संसदमा पनि छलफल सुरु भइसकेको छ।
योलगायत महत्त्वपूर्ण अरू विधेयकलाई पनि तीव्र गतिमा अघि बढाउन खोजिएको छ । यस क्रममा संसद सचिवालय र पदाधिकारीहरूले विज्ञ तथा सरोकारवालालाई पनि छलफलमा बोलाएर राय तथा परामर्श लिइरहेका छन् । आमसञ्चारमा पनि यसबारे बहस भइरहेका छन् ।
नेपाल प्रहरीमा महानिरीक्षक नियुक्ति जहिले पनि विवादित हुँदै आयो । विभिन्न खालका चलखेल भए । यसले प्रहरीको व्यावसायिकता क्षति पुगिरहेको छ । अब महानिरीक्षक बनाउँदा जेष्ठतालाई मुख्य आधार बनाइने भनेर ऐनमै तोक्नुपर्ने धारणाहरु पनि आइरहेका छन् । यस धारणाका पक्षधरहरुको तर्क छ– महानिरीक्षकको नियुक्ति अतिरिक्त महानिरीक्षकबाटै हुने हो । कुनै पनि अयोग्य व्यक्ति अतिरिक्त महानिरीक्षक पनि हुन सक्दैन । महानिरीक्षकका लागि जेजस्ता मापदण्ड तोकिएका छन्, ती त अतिरिक्त महानिरीक्षकका लागि पनि त आवश्यक छन् । त्यसैले एआईजीमध्येबाट बढुवा गर्दा सिनियर जो छ, उसैलाई दिँदा अब चलखेल कम हुने अपेक्षा गरिएको छ ।
अहिले अर्को बहसको विषय बनाइएको छ– प्रहरीमाथि नियन्त्रण कसले राख्ने ? यसलाई कसले सञ्चालन गर्ने । यो विषयमा विधेयक स्पष्ट छ । त्यसमा नयाँ कुरा केही हुन गइरहेको छैन । पहिला जे थियो, त्यसैलाई निरन्तरता दिइएको हो ।
प्रहरी फौजी संगठन हो । उसमाथि नागरिक सरकारको नियन्त्रण आवश्यक हुन्छ । यही कुरालाई लिएर प्रहरीमाथि गृह प्रशासन हाबी हुने भयो भनेर हल्ला गरिँदै छ । जुन सर्वथा अनुचित छ ।
नागरिक नियन्त्रणको आफ्नै सर्वव्यापी मान्यता छ । नागरिक नियन्त्रण भन्नुको अर्थ जनप्रतिनिधिमूलक संस्थाको नियन्त्रण हो । त्यो भनेको जननिर्वाचित संसद र सरकार हो । जननिर्वाचित सरकारले कर्मचारी प्रशासनमाथि नियन्त्रण राख्छ । त्यसैले गृह प्रशासनभित्रका कर्मचारीको अनुहार हेरेर तिनीहरूले हामीलाई किन नियन्त्रण गर्ने भन्ने धारणा आईजीसाबहरुले राखेको देखिँदै छ । सायद यसभित्र उनीहरुका आआफ्नै स्वार्थ छन् ।
नियन्त्रण भनेको प्रहरीको दैनिक कामकारबाहीको नियन्त्रण पनि होइन । नियन्त्रण कुनै व्यक्ति विशेषले गर्ने पनि होइन । प्रहरी नियन्त्रण र सञ्चालनको आफ्नै विधि र संयन्त्र हुन्छ । त्यसै संयन्त्रले नियन्त्रण गर्ने हो । बरू यसअघि प्रहरी नियन्त्रण र परिचालनको कुरा नियमावलीमा थियो । अब ऐनमा आउने भयो । यो समग्र प्रहरीको व्यावसायिकता, स्वायत्तता र वृत्ति विकासका पक्षमा छ । तसर्थ यो विधेयक पारित गरी कानुनका रूपमा चाँडो ल्याउन सबैले सहयोग गर्नुपर्छ । दबाब दिनुपर्छ । गिँजोल्ने र बिथोल्ने होइन ।
किन बन्द भयाे नेपालमा टेलिग्राम एप ?
कार्की र बस्नेत एसपीमा बढुवा
नेपाल प्रहरीका ३७ जना एसपीको पदस्थापन (सूची)
एसपीबाट एसएसपीमा बढुवा भएका २५ जनाको पदस्थापन (को कहाँ पुगे?)
हजारभन्दा बढी भीआईपीको सुरक्षामा खटिन्छन् ,अत्यावश्यक स्थानमा छैनन् पर्याप्त प्रहरी
सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
भैँसीपाटी हनी ट्रयाप प्रकरण : धरौटी तिरेर हिरासतमुक्त भएकी निलम्बित इन्स्पेक्ट…
प्रतिक्रिया