दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात भएको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा जेठ १८ गते आफ्ना विश्वासपात्र सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहोरालाइ साथै लिएर नयाँ दिल्ली उडेका थिए।
भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा भेट गरेका उनले पाएको सम्मान कुनै सरकार प्रमुखलाई दिइएको जस्तै थियो। मोदीले आफ्ना खास विश्वासपात्रलाई सँगै राखेर लामिछानेसँग वार्ता गरेका थिए।
यस्तै भाजपाका अध्यक्ष नितिन नवीन, गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकर लगायतसँग लामिछानेको भेट भएको थियो।
शुक्रबार स्वदेश फर्कनुअघि उनलाई अयोध्या भ्रमण गराइएको थियो। फर्किँदा लामिछानेको मुहारमा खुसी प्रस्टै देखिन्थ्यो। आफ्नो भ्रमणबाट नेपाल-भारत सम्बन्धमा ‘रिसेट’ अर्थात् नयाँ सुरुवात भएको उनले दाबी गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले नेपाल-भारत सीमा विवाद, आन्तरिक राजनीति, सत्ता समीकरण र आफ्नो आसन्न राजनीतिक यात्राबारे पार्टीको आधिकारिक धारणा प्रस्ट पारेका छन्। उनका भनाइका केही बुँदा यस्ता छन्।
१. ढोल बजाएर कूटनीति हुँदैन
पत्रकारिताकालमा टेलिभिजनको स्टुडियोमै ग्रेटर नेपालको नक्सा राखेर प्रखर राष्ट्रवादको वकालत गर्ने लामिछानेले फागुन २१ को चुनावबाट आफ्नो दललाई १८२ सिट जिताउन सफल भएपछि कूटनीतिक रूपमा आफू परिपक्व बन्दै गएको सन्देश दिए।
सीमा विवादबारे सोधिएको प्रश्नमा उनले कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाएर मात्रै संवेदनशील विषयको समाधान खोजिनुपर्ने बताए।
‘कुनै पनि विषय कूटनीतिक माध्यमबाट डिप्लोम्याटिक च्यानलहरूलाई सक्रिय बनाएर समाधान गर्नु महत्त्वपूर्ण हुन्छ। तिनको आवाज ढोल बजाएर (सडकमा चिच्याएर) हुँदैन,’ लामिछानेले भने, ‘ढोल नबजाईकन आफ्ना देशका बारेमा गर्नुपर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा र उचित समयमा चरणबद्ध तरिकाले गर्नुपर्छ।’
उनले राजनीतिक दल र सडक आन्दोलनको फरक स्पष्ट पार्दै थपे, ‘एउटा एक्टिभिस्ट (अभियन्ता) ले कुरा उठाउने विषय, एउटा जर्नलिस्ट (पत्रकार) ले उठाउने विषय र एउटा जिम्मेवार राजनीतिक दलले उठाउने विषय उस्तै हुँदैन। यसको फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको कुनै महत्त्व रहँदैन।’
२. सत्ता स्थिरताको पक्षमा रास्वपा, प्रधानमन्त्रीको दौडबारे मौनता
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले तत्काल कुनै वैदेशिक भ्रमण गर्ने सम्भावना नरहेको र रविलाई भारतले बोलाएर दिएको सम्मानले सरकार फेरबदलको चर्चा चल्न थालेको छ। यसै विषयमा उनलाई सोधिएको थियो- अब तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि?
‘म यसमा केही भन्न चाहन्नँ। निर्वाचनअगाडि हामीले गरेको सहमति एकपटक पढ्न आग्रह गर्दछु,’ उनले भने।
आफ्नो पार्टी वर्तमान सरकारको निरन्तरता र राजनीतिक स्थिरताको पक्षमा रहेको उनको भनाइ छ। ‘हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिरताका लागि नै हामीलाई मतदान गरेका हुन् । हामीले जनतामाझ गरेको वाचाप्रति दृढ छौँ र रहिरहनेछौँ,’ उनले थपे।
३. परराष्ट्र नीति देशको हुन्छ, पार्टीको हुँदैन
प्रधानमन्त्री बालेनले जेठ १८ गतेको संसद बैठकमा भारतले मात्र होइन नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको रहेछ भनेर दिएको अभिव्यक्ति विवादमा परेको छ। यही विषयमा सञ्चारकर्मीले रविलाई प्रश्न सोधे।
तपाईं इन्डिया जानुअघि प्रधानमन्त्रीले ‘नेपालले पनि इन्डियाको भूमि मिचेको छ’ भन्ने खालको अभिव्यक्ति दिनुभएको थियो, जसलाई लिएर प्रतिपक्षले आन्दोलन गरिरहेको छ। यसमा तपाईंको धारणा के हो? यो प्रश्नको जवाफ दिने क्रममा रवि निकै कूटनीतिक सुनिए।
‘परराष्ट्र मामिला, बाह्य सम्बन्ध र परराष्ट्र नीति जस्ता संवेदनशील विषयहरू कुनै दल विशेषको एजेन्डा हुनु हुँदैन, यो राष्ट्रको साझा विषय हो,’ लामिछानेले जोड दिए, ‘सरकारको प्रमुखको तर्फबाट परराष्ट्र मन्त्रालयले यसबारे स्पष्ट रूपमा विज्ञप्ति जारी गरिसकेकाले त्यो नै सरकारको आधिकारिक धारणा हो। आधिकारिक जानकारी आइसकेपछि त्यसमा धेरै खोतल्नुपर्ने आवश्यक म देख्दिनँ।’
४. नेपाल-भारत सम्बन्धमा ‘रिसेट’ र विकास डिप्लोमेसी
रविले यसपटक भारतीय प्रधानमन्त्रीसँग विकास डिप्लोमेसीको कुरा भएको बताए। नयाँ सरकार गठन भएपश्चात् रास्वपाको तर्फबाट भएको यस उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको उनको दाबी छ।
भ्रमणका क्रममा नेपालले छिमेकी मित्रराष्ट्रबाट गर्न सक्ने अपेक्षा, आर्थिक लगानी, द्विपक्षीय सहकार्य र दीर्घकालीन हितका विषयमा फलदायी संवाद भएको उनले जानकारी दिए।
एउटा उदीयमान राजनीतिक शक्तिका रूपमा भारतको सत्ताधारी दलसँग भएको यो संवादले नेपाल-भारत सम्बन्धलाई आगामी दिनमा थप व्यावहारिक र परिपक्व बनाउने विश्वास उनले व्यक्त गरे।
‘प्रधानमन्त्री मोदीसँगको कुराकानीको हकमा, हाम्रा सबै छलफलहरू पारदर्शी र समृद्धिको एजेन्डामा केन्द्रित थिए। नेपाल र भारतको सम्बन्ध तब मात्र वास्तविक रूपमा गहिरो हुन्छ, जब हामी आर्थिक समृद्धिको बाटोमा सँगै हिँड्छौँ। हामीले खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रमा सहकार्य गर्ने ठूलो खाकाबारे कुरा गरेका छौँ,’ उनले भने, ‘विगतका नीतिगत कमजोरी वा ढिलासुस्तीको भारी नबोकी वर्तमान सरकार विकास कूटनीतिका माध्यमबाट अगाडि बढ्न तयार छ। हामी एकअर्काप्रति घृणा र दोषारोपणबाट होइन, आपसी सम्मान र सम्भावनाका पाटाहरू पहिल्याएर समृद्धिको यात्रामा अघि बढ्न प्रतिबद्ध छौँ।’
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
१९ वर्षमुनिको टी-२० महिला क्रिकेटः लुम्बिनी, सुदूरपश्चिम र गण्डकी विजयी
गुल्मीमा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
प्रतिक्रिया