पत्रकार महासंघ चुनाव: किन छिरे काउन्सिल अध्यक्ष गोप्य बैठकमा ?
नेपाल पत्रकार महासंघको चुनावको ठिक २ दिन अघि । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षीय गठबन्धनका प्रमुख नेताबीच विशेष बैठक चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बडो अभिरुचीका साथ पत्रकारहरुको चुनावको अवस्था बारे चासो राख्दै पत्रकारका अगुवा र नेताहरुबीच सोधखोज गरे ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र कांग्रेसका नेता एवं गृह मन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुंगसहितका मन्त्रीहरु समेत थिए ।
महासंघको चुनावमा कांग्रेस र एमाले दुई ठूला दल निकट पत्रकार संगठनबीच तालमेल भएकाले जीत सुनिश्चित जस्तै थियो । ओलीले केही समस्या हुनु नपर्ने हो भनेर सहभागीबीच जिज्ञासा राखेका थिए ।
पत्रकार महासंघका पूर्व अध्यक्षहरुसहित भएको उक्त भेटमा चुनाव जित्न संकट पर्ने अवस्थाबारे ब्रिफिंग हुँदा प्रधानमन्त्री ओली छक्क पर्नु स्वभाविक नै थियो ।
संकटपूर्ण अवस्था आउन सक्ने कारण थियो प्रमुख विपक्षी माओवादी निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसहित साना दल निकट संगठनको संयुक्त प्यानलको सशक्त उपस्थिति, जुन प्यानलमा अध्यक्षको उम्मेद्वार थिए कांग्रेसबाटै विद्रोह गरेका पत्रकार रमेश विष्ट ।
२ दिनपछि अर्थात मंसिर २८ गते शुक्रबार हुँदै गरेको चुनावको तयारीबारे उक्त भेट अर्थपूर्ण हुने नै भयो ।
नेपाल पत्रकार महासंघको आगामी कार्यसमितिका लागि भएको चुनावमा सत्तापक्ष गठबन्धन काँग्रेस, एमाले निकट पत्रकारहरुले अहिले नेतृत्वसहित प्रायः सम्पूर्ण पदमा सफलता चुमेका छन् । प्रेस चौतारी संगठनबाट अध्यक्षमा निर्मला शर्मा र कांग्रेस निकट प्रेस युनियनबाट बरिष्ठ उपाध्यक्षमा दिपक आचार्यसहितका पदाधिकारीहरुको अहिले विजयको घोषणाको औपचारिकता मात्र बाँकी छ ।
विष्ट प्यानलले एक हजारको हाराहारीमा शर्मा प्यानललाई जित्ने भन्दै प्रचारबाजी गरेको थियो । उक्त आक्रमक प्रचारका साथ चुनावी मैदानमा उत्रिएपनि सदस्य संख्याका आधारमा त्यसरी आँत्तिनुपर्ने अवस्था सामान्यतः थिएन ।
बालुवाटार बैठकमा अनेपेक्षित रिपोंिटग कसरी भयो ?
सहभागी एक नेताले भने- 'सत्तापक्षीय प्यानलबीच जगैसम्म विश्वासको वातावरण थिएन । जिल्ला जिल्लामा प्रेस युनियनबाट ठूलो मात्रामा भोट विष्टको पक्षमा मत जाने आँकलन त्यहाँ भयो । प्रधानमन्त्री ओलीले सबैका कुरा सुनेपछि आवश्यक निर्देशन दिएका थिए ।'
गठबन्धनका भोटलाई एकत्रित गर्नुपर्ने र त्यसतर्फ दुवै तर्फका नेताहरुले सम्बन्धित तहमा कडाई गर्नुपर्ने निष्कर्षसाथ सबै फर्किएका थिए ।
त्यस अगावै प्रेस युनियनका सम्पूर्ण मत चौतारीका उम्मेदवारलाई नजाने, बरु विष्टमा जान सक्ने खतरा रहेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसमक्ष सूचना एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुर्याइसकेका थिए ।
सोही कारण सम्भावित खतरालाई टार्न बालुवाटारमा पत्रकार महासंघका पूर्व अध्यक्ष, हालसालै सूचना आयोगमा प्रमुख आयुक्त नियुक्त भएका सुरेश आचार्य, महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट, प्रेस युनियन र चौतारीका अगुवा नेताहरुलाई त्यहाँ निम्ताइएको स्रोतले जानकारी दियो ।
कुल ९ हजार ४ सय ७१ मतमा युनियनका मात्रै ३१ सय मत र चौतारीका २५ सय मत हुँदा विपक्षी गठबन्धनले कसरी जित्न सक्ला भनी उक्त बैठकमा नेताहरुको जिज्ञासा हुनु स्वभाविक थियो ।
अघिल्लो गठबन्धन फ्याक्टर रोचक के भने यसपटक चौतारीले जुन संगठनसँग गठबन्धन गरी विजय हाँसिल गर्र्यो, ३ वर्ष अघि सोही संगठन अर्थात युनियनले माओवादी निकट सेन्टरसँग मिलेर देशभरको पत्रकारहरुको साझा संगठन महासंघ कब्जा गरेको थियो । र, उतिबेला संयुृक्त गठबन्धनबाट बरिष्ट उपाध्यक्षमा भारी मतले जितेका थिए विष्टले । उनीहरुको गठबन्धन केन्द्रिय राजनीति फेरिएसँगै तोडिएको थियो, जुन धेरै भएकै थिएन । त्यतिबेलाको चुनावी गठबन्धनका संयोजक थिए, सुरेश आचार्य । त्यस हिसाबले सुरेशसँगै प्रेस सेन्टरका नेताहरु गोविन्द आचार्य, विष्णु सापकोटा, रोशन पुरी र अहिले विपक्षी अध्यक्ष उम्मेद्वार विष्टसँग नजिकको सहकार्य हुनु स्वभाविक थियो । पछिल्लो समय समिकरण बदलिएपनि उनीहरुबीच हिमचिम र अघोषित सहकार्यबारे जिल्ला जिल्लामा अनेकन आशंकाहरु उब्जिरहेको थियो । सोही टिममा प्रेस युनियनका पूर्व अध्यक्षहरु समिरजंग शाह र बद्रि सिग्देल समेत जोडिएका थिए ।
युुनियन, सेन्टरको गठबन्धनबाट चुनावमा अध्यक्ष जितेका विपुल पोखरेलसहित महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा र किरण पोखरेलहरु भने कांग्रेसभित्र फरक (कोइराला) कित्तामा जोडिन्छन् । कित्ता फरक परेकै कारण महासंघमा हुँदा वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र सेन्टरबाट महासचिव जितेका रोशन पुरीले आफूलाई घेरावन्दीमा राखेको, काम गर्न नदिएको र गैर पत्रकारलाई सदस्यता दिएको भन्दै अध्यक्ष पोखरेलले सार्वजनिक ठाउँमै बोल्दै हिँडेका थिए । चर्को घेराबन्दीमा आफू परेको र कामै गर्न नदिएको भन्दै पोखरेलले आफ्नो ३ वर्षे कार्यकाल सकिएपछि चुनाव नहुँदै बीचैमा राजिनामा समेत दिएका थिए । त्यसपछि कार्यबाहक सम्हालेका विष्टले पनि बिचैमा छाडेका थिए । त्यसपछि उपाध्यक्ष बाला अधिकारीले कार्यवाहक अध्यक्ष बनि यस पटकको चुनाव गराएकी हुन् । महासंघको चुनावी इतिहासमा यो आफैमा अनौठो र नौलो अभ्यास हो ।
यसपटक पत्रकारका नेताहरुबीचको गुट र गठबन्धन फेरबदलको प्रभावको फाइदालाई माओवादीले विष्ट मार्फत अघि सार्ने चलाखीपूर्ण रणनीति बनाएको थियो ।
'एक हजार मतले जित्ने अंकगणित बनेपछि हामीले अर्को प्यानल बनाएका थियौं, सेन्टरका एक पदाधिकारीले लोकान्तरलाई बताए ।
टिकटमा असन्तुष्टि नयाँ गठबन्धन सहित यसपटकको टिकट वितरणबाट युनियन अध्यक्ष शिव लम्साल र चौतारी अध्यक्ष गणेश बस्नेतप्रति चर्को असन्तुष्टि थियो । त्यसको आक्रोस सतहमै पुृगेको थियो । संगठनमा इमान्दारसाथ काम गर्ने, निरन्तर खट्नेलाई वेवास्ता गरी टिकट दिएको भन्दै जिल्ला, प्रदेश र केन्द्रमा समेत असन्तुष्टि थियो । विभिन्न तहमा वागी उम्मेद्वार सोही कारण परे । त्यसमा पनि विष्ट प्यानलले राम्ररी खेली मत आफूतिर तान्ने र झण्डै ३५ सय हाराहारी मत आउने आकलन सहित चुनावमा सहभागी थियो । चौतारी र युनियनको संयुृक्त प्यानल भनेपनि सचिवालय बेग्लै बने । युनियनको विजुलीबजारस्थित कार्निभल होटल र चौतारीको बागबजारस्थित होटल हार्दिकमा सचिवालय बनी काम भइरहेका थिए । मनोनयन गर्ने अघिल्लो दिनसम्म समेत दुवै संगठनले उम्मेदवार प्रष्ट पार्न नसक्दा चुनावी माहोल अल्मलिएको थियो । त्यसको फाइदा समेत विद्रोही समूहले लिइरहेको थियो ।
हार्दिक होटलको एक साँझ
मंसिर २१ गते शुक्रबार सम्म चौतारी र युनियन दुवै संगठनले आफ्ना पूर्व अध्यक्षसहित अगुवा नेता र महासंघका पूर्व अध्यक्षहरुसँग पर्याप्त समन्वय नगरेको भन्दै पत्रकारबीच गुनासो थियो । उम्मेद्वारहरु पनि अन्योलमा थिए । चौतारी अध्यक्ष गणेश बस्नेत एक्लै टिकट बाँड्ने तयारी गर्दै चुनावी मैदानमा खटिरहेका थिए । महासंघका पूर्व अध्यक्ष महेन्द्र विष्ट र चौतारीका पूर्व अध्यक्ष गगन विष्ट (हाल सूचना आयुक्त) को आक्कल झुक्कल उपस्थिति हुन्थ्यो । बरु एमाले प्रचार विभाग प्रमुख गौतम मैदानमै देखिन्थे । गठबन्धन भएका कारण चौतारी र युनियन दुवै अध्यक्षहरुबाट चुनाव जितिने प्रतिक्रिया सुनिन्थयो ।
शनिवार साँझ हार्दिक होटलमा अपर्झट पुगेका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बेग्लै विवरण सुनाइदिए, जुन सुरुमा नेता गौतमले पत्याएनन् । होटलको दोस्रो तलामा रहेको हलमा नेता गौतमसहित महासंघ पूर्व अध्यक्ष विष्ट, चौतारी अध्यक्ष बस्नेत, पूर्व अध्यक्ष विष्ट, चौतारीका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरा लामा, चुनावमा कोषाध्यक्ष उम्मेद्वार रामकृृष्ण ज्ञवालीसहित बसेको गोप्य मिटिंगमा काउन्सिल अध्यक्ष बस्नेत छिरेका थिए । महासचिव लामाले प्राय ठाउँबाट जित्ने हिसाब निकालिरहँदा उनले भने यसपटक निकै फ्लोर क्रस हुने, गठबन्धनबाट इमान्दार भोट नखस्ने दावी साथ फरक धारणा सुनाए ।
'चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, बालकृष्ण चापागाईहरु खोइ कता छन् ? युनियनका पूर्व अध्यक्षहरुलाई के के जिम्मेवारी दिइएको छ, थाहा छ कि ? कागजमा मात्र जित्ने आँकलन हो यो' भनेर बस्नेतले आक्रोशित मुद्रामा भनेपछि एकैछिन सब चुपचाप बसेका थिए ।
त्यहाँ सहभागी चौतारीका एक पदाधिकारीका अनुसार उक्त दिन काउन्सिल अध्यक्षले बाहिर सुनेको भन्दै चुनाव जित्न गाह्रो भएको विश्लेषण गरेपछि रणनीति फेरिएको थियो ।
जुन दिन बालकृष्णले फरक कोणबाट आफ्नो विश्लेषण सुनाए, त्यो दिन पूर्व अध्यक्ष राजेन्द्र गुल्मीको कालीगण्डकी गाउँपालिकामा पार्टीको काम गरिरहेका थिए । अर्का पूर्व अध्यक्ष चापागाई बुटवलमा थिए । युनियनका पूर्व अध्यक्ष समिरजंग शाह र बद्रि सिग्देलले पनि केही भूमिका पाएका थिएनन् ।
नेता गौतमले त्यहीँबाट राजेन्द्रलाई गुल्मीमा फोन लगाई तत्काल झिकाएका थिए । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई समेत फोन गरी काठमाडौं झिकाउन र गणेशसँगै राजेन्द्रलाई पनि चुनावी कमाण्ड सम्हाल्न निर्देशन दिएका थिए । फ्लोर क्रस हुन सक्ने सम्भावित खतराबारे कांग्रेसका नेता डा.प्रकाशशरण महत, मिन विश्वकर्मालाई खबर गरिएको थियो । चुनावको अघिल्लो दिन सम्म आउँदा जित्न सक्ने गरी गठवन्धनका मत एकत्रित भएका थिए ।
विद्रोही उम्मेदवार भएपनि विष्टले ल्याएको राम्रो मत हेर्दा गठबन्धनले राम्रो तयारी नगरेको भए चुनावको अर्कै परिणाम आउन सक्ने खतरा पनि देखिन्छ ।
काउन्सिल अध्यक्ष बस्नेतको अस्वभाविक रुची किन ?
स्रोतहरुका अनुसार यसपटकको चुनावमा काउन्सिल अध्यक्ष बस्नेत पछिल्ला दिनहरुमा निकै सक्रिय भए । त्यसमा उनको राजनीतिक पृष्ठभूमि त छँदैछ । पत्रकार महासंघको राजनीतिको पृष्ठभूमिले समेत ठूलो काम गरेको छ । युनियन, सेन्टर गठबन्धनका कारण उनी अघिल्लो पटक चौतारीबाट महासचिव उठेपनि जित हासिल गर्न सकेका थिएनन् । अहिले जितेकी निर्मला शर्मा उतिबेला बस्नेतसँगै पराजित भएकी थिइन । त्यसयता विष्ट, पुरी समूहले गैरपत्रकारलाई ब्यापक प्रवेश गराएको, महासंघमा झगडा बढाएको भन्दै उनी असन्तुष्टी सुनाइरहन्थे । महासचिवमा पराजित भएको केही समयपछि नै बस्नेत प्रेस काउन्सिलको अध्यक्ष बने । माओवादीसहितको फेरिएको गठबन्धन सरकारले उनलाई हटाउन विभिन्न ४ पटक प्रयास गर्र्यो । कहिले पत्रकार महासंघको सदस्यता विवाद झिकेर, कहिले मिडिया काउन्सिल विधेयक हतारमा ल्याउन खोजेर र कहिले फेसबुक ह्याकको विषयलाई गलत व्याख्या गरेर हटाउन खोजेको भन्दै उनी अदालत समेत धाए ।
माओवादीसहित ५ दल निकट संगठनहरुले उनी विरुद्ध विज्ञप्ति निकालेका थिए । केही नेताले उनलाई ३ महिना समेत टिक्न नसक्ने भन्ने अभिव्यक्ति दिएका थिए । ती सबैको सामना गर्दै उनी हालसम्म पदमा छन् ।
आफू २०५३ सालबाट पत्रकार महासंघको केन्द्रिय पार्षद भएको तथ्यांक हुँदा पनि महासचिव पुरीले २०६० साल भन्दा अघि सदस्य नै नरहेको गलत जिकिरसहितको पत्र बनाएको दावी बस्नेतको थियो । उक्त विवाद छताछुल्ल समेत बनेको थियो ।
'यीनै कारण हुन सक्छ । नत्र काउन्सिल अध्यक्ष स्वयं यसरी चुनावी रणनीतिमा खटिनुुपर्ने होइन,' अहिलेको चुनावमा हारेका एक उम्मेदवारको प्रतिक्रिया छ ।
यतिसम्मकी काठमाडौंका केही प्रभावशाली मिडिया हाउसमा त अध्यक्ष बस्नेत स्वयंले फोन गरी चुनावबारे अतिरिक्त चासो देखाएका थिए ।
बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु
रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…
प्रतिक्रिया