‘छापामाध्यमको सान्दर्भिकता अझै सकिएको छैन’
काठमाडौँ, ३१ जेठ: सूचना प्रविधिमा भएको तीव्र विकासले छापामाध्यमका पाठक घटे पनि यसको सान्दर्भिकता भने नसकिएकामा जोड दिइएको छ ।
छापामाध्यमहरूको राष्ट्रिय सञ्जालले ‘नेपालका छापामाध्यमले भोगिरहेका समस्या’ विषयमा आज ललितपुरमा आयोजना गरेको छलफलमा सहभागीले पत्रकारिताका समस्या निराकरणका लागि स्वयं छापामाध्यमले आफूलाई परिष्कृत बनाउने र समयसापेक्ष ढाल्नुपर्ने जोड दिए ।
साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘छापा माध्यमका समस्या र सम्बद्ध पक्षहरूसँग अपेक्षा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उहाँले समाचारका विषयवस्तु र त्यसको प्रस्तुतीकरण विगतमा झैँ गर्ने हो भने छापामाध्यम नटिक्ने यथार्थमा जोड दिँदै अब यसले समाचार ब्रेकिङ गर्नेबारे नसोची यसको गहिराइमा जानुपर्नेमा जोड दिनुभयो । न्यु मिडियाले दिन नसकेका र छुटाएका विषयवस्तुमा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने हो भने अझै पनि अखबारले पाठक पाउन सक्ने सम्भावना जीवितै रहेको उहाँको विश्वास थियो ।
‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले नेपाली छापामाध्यमले हाल भोगिरहेको समस्यालाई परास्त गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले छापामाध्यमको महत्त्व र गरिमा अझै बाँकी नै रहेकाले त्यसको प्रभावकारितालाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्न सके आत्तिनुपर्ने अवस्था अझै आइनसकेको जिकिर गर्नुभयो ।
नेपाल चाइना मिडिया फोरमले आजै ‘नेपाल –चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयमा आयोजना गरेको अन्तरक्रियामा सहभागी पत्रकारले नेपाली मिडियाले दुई देशबिचको सम्बन्धलाई अझै मजबुत पार्न संवाद, सहकार्य र आपसी साझेदारीलाई इमानदारीका साथ नागरिकसमक्ष पु¥याउने जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नेपाल –चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सीताराम भट्टराईले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ र द्विपक्षीय हितका बाटामा डो¥याउन मिडियाले जे जति काम गर्न सक्थ्यो त्यसो हुन नसकेको विचार राख्नुभयो ।
नेपाली मिडियाले नेपाल चीन सम्बन्धलाई ठीकसँग बुझ्न नसकेको बताउँदै चिनियाँ पक्षले पनि नेपाली मिडियालाई समयमा नै सही सूचना दिने र सूचनाको पहुँचमा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाली छापामाध्यमले भोगिरहेका समस्यालाई सम्बोधनका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समेत सक्रिय गराउन आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल चीन सम्बन्धलाई थप मजबुत बनाउन नेपाली मिडियाले स्वतन्त्र र व्यावसायिक भएर सोहीअनुसारका लेख, रचना, समाचार र टिप्पणी प्रकाशन र प्रसारण गरे मात्रै पनि पुग्ने उहाँले बताउनुभयो । मिडियालाई जिम्मेवार बन्न र कुनै पनि अर्काे मुलुकसँग जोडिएका विषयमा काम गर्दा सजग रहन उहाँले आग्रह गर्नुभयो ।
नेपाल चाइना मिडिया फोरमका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले नेपाली मिडियाले दुई देशको सम्बन्धलाई अझै मजबुत पार्न विद्यमान संवाद, सहकार्य र आपसी साझेदारीलाई इमान्दारीका साथ नागरिकसमक्ष पु¥याउने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार राजन कार्की, डा बालकृष्ण चापागाईं, निर्मला शर्मा, पुष्पराज प्रधान, विश्वमणि सुवेदी, महेश्वर दाहाल र खिलबहादुर भण्डारीले प्रस्तुत दुवै कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकारसहित करिब ५० सञ्चारकर्मी र सरोकारवालाको सहभागिता थियो ।
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
परराष्ट्रमन्त्री शुक्रबार भारत जाँदै
विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ:…
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
प्रतिक्रिया