गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा हानिन् अर्को झटारो

 काठमाडौँ, ३१ जेठ :गायिका ज्योति मगरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालमाथि एकपछि अर्को कडा टिप्पणी गरेकी छन् । लोकदोहोरी गीतमा विकृति तथा विसंगति देखिएको भन्दै नयाँ पुस्तालाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने भन्दै दिएको धम्कीले केही नहुने उनकाे भनाई छ ।

‘विकृति न्युनीकरणको नाममा स्पष्टीकरण माग्छौ, कार्बाही गर्छौ, प्रशासनसम्म पुग्छौ, कानूनी कार्बाहीको माग गर्छौ भन्दै नयाँ जेनेरेसनलाई दिएको इन्डिरेक्ट धम्की र तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फण्डा बाहेक केही होइन। केही लछारपाटो लाग्दैन ।’ उनले भनेकी छन् ।

साथै उनले गुगलले नितान्त सामाजिक सञ्जालमा अपलोड र प्रसारण गर्ने अनुमति दिएको कसैको सामाग्रीलाई हटाउने आदेश दिने तिमी को हौ भन्दै प्रश्न समेत उठाएकी छन् । “श्लिल र अश्लिलता”को परिभाषा तिम्रो मनमर्जीले जे बनायो त्यो, सहि हो सहि हो भन्ने बेवकुफहरु मात्रै छैनन् नि यहाँ अलि अलि अध्यन गर्ने मान्छे हरु नि छन लोक दोहोरीको क्षेत्रमा। त्यसैले मै जान्ने मै सुन्ने दम्भबाट माथि उठ र बुझ लोक दोहोरी प्रतिष्ठान एउटा संगठन हो, संस्था हो, राज्य होइन । तिमी संस्थाको पदाधिकारी हौ तिमी प्रधानमन्त्री होइनौं, ओह ! सरि सरि प्रधानमन्त्री पनि संविधान र कानूनभन्दा माथि होइनन् ।’ उनले व्यंग्य कसेकी छन् ।

केही नयाँ तरिका अपनाएर मनोरन्जनात्मक कुराहरु तयार पारेर घर खर्च चलाएका र पेट पालेका कलाकारको आम्दानी बन्द गराएर उनीहरुको पेटमा लात हान्न नहुने पनि उनको भनाई छ । ‘न लोकगीत तिम्रो बिर्ता हो, न युट्युब तिम्रो बिर्ता हो । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले आफ्नो मनखुसी केही काम गरेर पेट पाल्दा भत्किहाल्ने तिम्रो अनुसासन अनि परम्परा । त्यो परम्परा जोगाउने ठेकेदार तिमी ? अरे वाह !! ’