सरुवा भएर आएका मेसु बन्जाडेको दादागिरी : हर्न समेत निषेध गरिने अस्पतालभित्रै आतिशबाजी गरेर नयाँ हाकिमको स्वागत !

काठमाडाै। हर्न निषेध गरिने अस्पतालभित्रै आतिशबाजी गरेर नयाँ हाकिमको स्वागत गरिएको छ ।

तौलिहवास्थित कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेनटेन्ट डा। किशोर बन्जाडेको स्वागतमा मंगलबार बिहान साढे १० बजेतिर अस्पताल हाताभित्रै आतसबाजी गरिएको हो।

गुल्मी अस्पतालबाट सरुवा भई आएको खुसीयालीमा अस्पतालमा एक मिनेटभन्दा बढी पटाका पड्काइएको थियो। अस्पतालको हलमा कर्मचारी, राजनीतिक दलका नेतासहितको टोलीले मेसुको स्वागत गरिरहेकै बेला पटाका पड्काइएको हो।

पटाकाको आवाजले अस्पतालका बिरामी, सेवाग्राही र नजिकै रहेको तौलेश्वरनाथ संस्कृति उच्च माविका विद्यार्थीसमेत त्रसित बनेका थिए। सो घटनापछि सामाजिक सञ्जालमा त्यसको भिडियोसहितका सामग्री भाइरल बन्यो।

२०७५ सालदेखि मेडिकल सुपरिटेन्डेन्ट भएर बसेका मेसु किशोर बन्जाडे २०८० मा स्थानीयको चर्को विरोधपछि स्वास्थ्य मन्त्रालयमा तानिएका थिए । गुल्मी अस्पतालको मेसु बनेका उनीमाथि सेटिङ मिलाएर कपिलवस्तुको तौलिहवास्थित आफ्नै बुद्ध क्लिनिकमा समय बिताउँदै आएको भन्दै आलोचना थियो । उनै बन्जाडे लुम्बिनीमा सरकार फेरिएलगत्तै कपिलवस्तु अस्पताल आउन जोडले लागेका उनी अन्ततस् सफल भए । प्रदेश स्वास्थ्य मन्त्रालयले जेठ १८ गते बन्जाडेलाई कपिलवस्तु अस्पतालमा मेसु बनाएर पठाएको हो । मंगलबार मेसु बन्जाडेको पदभार ग्रहण गर्ने क्रममा उनका समर्थकले आतिशबाजी गरेका हुन् ।

अस्पताल नजिकै रहेको तौलेश्वर संस्कृत माविका विद्यार्थीसमेत डराएर भागदौड मच्चिएको कर्मचारी गिरीजेश पाण्डेले बताए । स्थानीय युवा गोपीकृष्ण शर्माले अस्पताल परिसरबाट सय मिटर दूरीमा रहेको जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले समेत यस्ता गलत क्रियाकलाप बारे केही नबोलेको भन्दै ध्यानाकर्षण गराए । बिरामीका कुरुवाहरूले पनि यस कार्यको विरोध गरेका छन् ।

यसअघि करिब ५ वर्ष मेसु चलाएका बन्जाडे स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, कोरोनाकालमा लापरबाही, अस्पतालको सामग्री तथा औषधी खरिदमा भ्रष्टाचार, विभिन्न प्रलोभनमा अयोग्य कर्मचारीह भर्ना, निजी अस्पतालमा बिरामी रेफर तथा बढी समय निजी क्लिनिकमै बस्ने गरेको भन्दै विवादित बनेका थिए ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले अस्पतालभित्र यस्तो गतिविधि भएको सूचना आफूले पनि पाएको र यो विषयमा छानबिन गर्ने बताए ।‘संवेदनशील क्षेत्रमा त्यसो गर्न पाइँदैन, त्यो सूचना आएपछि प्रहरीमार्फत अनुसन्धान थालिएको छ, कसले किन गर्‍यो भन्ने विषय छिट्टै खुल्नेछ, दोषीलाई कारबाही हुन्छ’ उनले भने ।