गण्डकीका मुख्यमन्त्री अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा परेकाे रिटकाे सुनुवाइ आज नहुने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज (बिहीबार) सुनुवाइ नहुने भएको छ।

न्यायाधीश मनोज शर्माको इजलासमा पेसी तोकिए पनि आज सर्वाेच्चका  कुनै पनि इजलास नबस्ने भएका कारण उक्त रिट सुनुवाइ नहुने भएको हो।

सर्वाेच्चका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएकाले आज सर्वाेच्चका कुनै पनि इजलास नबस्ने सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। सिजापतिको बुधबार निधन भएको थियो। 

खगराजले मुख्यमन्त्रीमा विश्वासको मत लिँदा विश्वासको मत नपाएपछि सभामुखले विश्वासको मत पाएको भनी गरेको घोषणा बदर गर्न माग गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयका तर्फबाट मंगलबार अदालतमा रिट दायर भएको हो। 

६० सदस्यीय गण्डकी प्रदेशमा खगराजले ३० मत मात्रै पाउँदा पनि सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए।सभामुख धितालले घोषणा गरेपछि कांग्रेसले असंवैधानिक कार्य भएको भन्दै विरोध गर्दै आएको छ। प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ।