सहकारीका बदमासलाई कारबाही गर्ने चेतावनी कानुनी कारबाही

 काठमाडौँ, २५ वैशाख : सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओढेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताएका छन् 

उनले सहकारीको प्रभावकारी नियमनका लागि वैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताए । अब सहकारीलाई देखाएर गलत गर्नेलाई कारबाही गरेरै छाड्ने उनले चेतावनी दिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही सर्त बमोजिम फिर्ता गर्नु हाम्रो दायित्व हो । त्यो दायित्व राज्यको पनि हो । बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ । सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ ।’

अहिले सहकारीमा प्रणालीगत र गैरप्रणाली दुवै समस्या रहेको उनले बताए । सहकारी ऐन, मूल्य र मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्नेमा सबै केन्द्रित भएर भएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्नु समस्या सिर्जनाको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारको अपनत्व महसुस गर्नुपर्ने बताइन् ।