ओलीको एकै झट्कामा माधव नेपालको प्रधानमन्त्री बन्ने सपना चकनाचुर

राजनीतिका गोटी कसरी चाल्नुपर्छ ? जस्तासुकै परिस्थिति पनि आफ्नो पक्षमा कसरी पार्नुपर्छ ? यो प्रश्नको उत्तर समकालीन राजनीतिमा केपी शर्मा ओलीलाई भन्दा बढ्ता कसलाई थाहा होला ? 

नपत्याए हेर्नुहोस् गत आम निर्वाचनयताका घटनाक्रम । आम निर्वाचन एक्लै लड्नुपर्यो  । राष्ट्रियरुपमा एमालेविरुद्ध गठबन्धन भयो । त्यो पनि आफ्नो पार्टी फुटाएर धुजाधुजा पारिएका बेला । ओलीले चुनावको नतिजा आउनेबित्तिकै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए । त्यसबेला कम्तीमा आफ्नो पार्टीबाट सभामुख बनाएर संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधिको उपस्थिति सुनिश्चित गराए ।

राष्ट्रपतिको चुनावमा प्रचण्डले धोका दिए । त्यसको बदला ओलीले कोसीमा दुईपटक दिए । एक, माओवादीका इन्द्र आङ्बो मुख्यमन्त्री बन्नै लाग्दा कांग्रेसका केदार कार्कीलाई समर्थन दिए । दुई, केदार कार्कीलाई मुख्यमन्त्री बनाएवापत गुन फर्काउन लगाए, राष्ट्रिय सभा चुनावमा । कांग्रेसले गठबन्धन उल्लंघन गरी एमालेलाई भोट दियो । माओवादी उम्मेदवार कोसीमा पराजित भएपछि तत्कालीन गठबन्धनको अविश्वास चुलीमा पुग्यो । 

फागुन २१ गते राष्ट्रिय राजनीतिमा उनले अर्को सरप्राइज दिए । प्रचण्डलाई समीकरण फेर्न लगाए । कांग्रेस बाहिरियो । एमाले सरकारमा भित्रियो । नयाँ गठबन्धन भत्काउन सुरुकै दिनदेखि माधव नेपाल लागे । त्यसमा उपेन्द्र यादव पनि मिसिने छाँट देखियो । सामान्य राजनीतिक नैतिकता पनि बिर्सेर माधव नेपाल आफैले खाइरहेको थालमा विष्ट्याउन लागेपछि ओलीले अर्को झट्का दिए । 

उपेन्द्र यादव आफ्नै पार्टीभित्र अल्पमतमा पर्ने भए अब । माधव नेपालको हविगत पनि त्यस्तै देखिन्छ । अबको केही दिनमा रेशम चौधरीको हालत त्यस्तै हुनेवाला छ । ती विभाजित भएका घटकहरु एमालेमा मिसिए पनि आश्चर्य हुने छैन । यसरी ती दलहरु एमालेमा मिसिएमा देशको सबैभन्दा ठूलो पार्टी एमाले हुनेछ । संविधानको धारा ७६ (३) मा गए पनि ओली नै प्रधानमन्त्री हुनेछन् । माधव नेपालसँग शेरबहादुर देउवाको सम्भावना पनि समाप्त हुनेछ । 

अहिले देउवाको सम्भावना समाप्त हुनु भनेको उनको राजनीतिक जीवनकै पटाक्षेप हुनु हो । किनभने अब उनी पार्टीको सभापति हुने सम्भावना छैन । विधानलले नै रोकेको छ । उनका वरिपरिका सबैजसो विश्वासपात्र भ्रष्टाचार र संगठित अपराधको छानबिनमा छन् । आरजु राणा त अब देशमा बस्न सक्ने अवस्था पनि छैन । उमेरले पनि अब देउवाको शरीर जीर्ण बन्दै गइरहेको छ र राजनीति पनि जीर्णोद्धार हुनै नसक्ने बिन्दुमा पुग्दै छ ।  

उपेन्द्रको यो हविगत 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव वैशाख १५ गते मात्र अमेरिका प्रस्थान गरेका थिए।
वैशाख १८ देखि २१ (अप्रिल ३० देखि मे ३) सम्म संयुक्त राष्ट्र संघको सचिवालय, न्युयोर्कमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी अमेरिका गएका थिए। उनी वैशाख २५ (मे ७) मंगलबारका दिन स्वदेश फर्किने कार्यक्रम थियो। अध्यक्ष यादवले आफ्नो अनुपस्थितिमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका थिए।

अमेरिकाबाट फर्किँदासम्म उनले कार्यवाहक जिम्मेवारी दिएका श्रेष्ठ नै पार्टीमा रहेनन्। बरू पार्टी विभाजनको एक सूत्रधार बनेर श्रेष्ठले अर्कै चुलो बाल्न थालिसकेका छन् । जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव अमेरिकाबाट स्वदेशका लागि उडिसकेका थिए । अर्थात्, यादव आकाशमै हुँदा यता पार्टी फुटिसकेको छ ।