छायानाथका प्रशासकीय अधिकृतसमेत दुई जनालाई कैद सजाय

काठमाडौं, ३० चैत मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत दुई जनालाई विशेष अदालतले सजाय सुनाएको छ । शुक्रबार विशेषले भ्रष्टाचार मुद्दामा मुछिएका अन्य पाँच जनालाई भने सफाइ दिइएको छ ।

रारानाथका अधिकृत ललितजंग मल्ल र उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर रावल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् । विशेषका अनुसार मल्ललाई दुई वर्ष ६ महिना कैद तथा रावललाई एक वर्ष ६ महिना कैद सजाय सुनाइएको हो । यसैगरी मल्ललाई १९ लाख २३ हजार रुपैयाँभन्दा बढी जरिवाना तथा असुलउपर हुने फैसला भएको छ । रावललाई पनि उति नै जरिवाना र असुलउपरको फैसला भएको विशेषले जनाएको छ । 

यसै वर्ष १२ साउनमा दायर मुद्दामा फैसला गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले आंशिक ठहरको फैसला गरेको हो । यसै मुद्दामा प्रतिवादी बनाइएका महेशसिंह विष्ट, रुनबहादुर सेजुवाल, केशरबहादुर रावल, हस्तबहादुर मल्ल र वसन्ती रावलले भने सफाइ पाएका छन् । 

प्रतिवादीमध्ये सेजुवाल नगरपालिकाका लेखापाल हुन् भने केशरबहादुर कम्प्युटर अपरेटर हुन् । महेश सिंह र हस्तबहादुर इञ्जिनियर र सबइञ्जिनियर हुन् । 

प्रतिवादीहरुले सम्बन्धित वन कार्यालयको स्वीकृति नलिइ नगरपालिकाको वडा नं. २ मा पार्क निर्माण गर्ने भन्दै कार्य अघि बढाइएको पाइएको थियो । साथै सार्वजजनिक खरिद नियमावलीविपरीत कूल लागतको ५० प्रतिशत पेस्की समेत उपलब्ध गराइएको भन्दै विशेषले यसमा संलग्नहरुलाई सजाय सुनाएको हो । 

पार्क निर्माणका लागि प्रमुख प्रशासकीय अधिकृत मल्ल र उपभोक्ता समिति अध्यक्ष रावलबीच २० चैत २०७४ मा सम्झौता भएको थियो । जसपछि पेस्की लगे पनि फिर्ता नभएको पाइएको थियो ।