नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपाने सम्पत्ति शुद्धिकरणमा दोषी ठहर, १२ करोड हिनामिना गरेको भन्दै सजाय निर्धारणको पेसी तोकिय

२५ चैत, काठमाडौं भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने सम्पत्ति शुद्धिकरण कसूरमा दोषी पाइएका छन् । आइतबार विशेष अदालतले उनीमाथि कसूर कायम गरेको छ भने अन्य आठ प्रतिवादीले सफाइ पाएका छन् । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले दुई वर्ष अघि दायर यस मुद्दामा फैसला गरेको हो । कलेजका सञ्चालक समिति अध्यक्ष रहेका न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्नो नाममा कलेजको नाम मिल्नेगरी प्राइभेट कम्पनी दर्ता गरेको भेटिएको थियो । 

न्यौपानेले उक्त कलेजको चल–अचल सम्पत्ति तथा दायित्व समेत उक्त प्राइभेट कम्पनीका नाममा सार्ने प्रयास गरेको पुष्टि भएपछि कसूर कायम गर्दै विशेषले सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो । प्रतिवादी न्यौपानेले विभिन्न बैंकमा आफ्नो नाममा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको अदालतको ठहर छ । 

आफ्नो आयस्रोतको आधारमा कर नतिरेको समेत भेटिएको छ । ‘हक नपुग्ने संस्थाको सम्पति कुनै अभिलेख नराखी निजी सम्पत्तिको रुपमा परिणत गरेको पाइएको, आर्जित सम्पत्तिको स्रोत खुलाउन नसकेको आफ्नो कार्यकालमा सञ्चालक समितिबाट निर्णय गराइ संस्थाको स्वामित्व नै विवादमा रहेको अवस्थामा उल्लिखित कलेजको स्रोतबाट’ विभिन्न शीर्षकमा खर्च गरेको विशेषले ठहर गरेको हो । 

न्यौपानेले १२ करोड ८४ लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको भन्दै विशेषले उनीमाथि सजाय निर्धारणका लागि १६ वैशाखको पेसी तोकेको छ । उनले कलेजको रकमबाट तलब, भत्ता, गाडी र अन्य सुविधासमेत गरी ठूलो रकम आफू र सञ्चालक समितिका सदस्यलाई लाभ दिलाएको मिसिल संलग्न प्रमाणले पुष्टि गरेको संक्षिप्त फैसलामा उल्लेख छ ।