सुन फिर्ता दिन १८ लाख घूस लिने डिएसपी केसीलाई दुई वर्ष कैद हुने, बकपत्र बदल्ने पनि दोषी ठहर

 

काठमाडौं, २० चैत । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई भ्रष्टाचार मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले मंगलबार उनलाई आठ लाख ५० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । सेवाग्राहीसँग सुन लिइ गइ सुन फिर्ता गर्नका लागि उनले रकम माग गरिरहेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । 

अनुसन्धानका क्रममा खानतलासी गर्दा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो । उनले उक्त सुन १५ दिनदेखि आफ्नो कोठामा राखेका थिए । 

अन्य व्यक्तिमार्फत् सुन फिर्ता दिन भनी आठ लाख ५० हजार रुपैयाँ नगद र नौ लाख ५० हजार रुपैयाँ चेकबाट बुझेको अननुसन्धानबाट खुलेको थियो । जसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको हो । 

अख्तियारले डिएसपी केसीविरुद्ध यसै वर्ष १३ भदौमा मुद्दा चलाएकोमा ठहर हुने फैसला भएको हो । साथै घूस रकम उपलब्ध गराउने पनि दोषी ठहर भएका छन् ।

विशेषले खेम भन्ने खिलेन्द्र जिसीलाई पनि भ्रष्टाचार निवारण ऐनको दफा ३(१)(ङ) बमोजिम कसूरदार मान्दै सजाय सुनाएको हो । केसीलाई दोषी ठहर गरेकै इजलासमा जिसीविरुद्ध पनि सुनुवाइ भएको थियो ।

विशेषका अनुसार जिसीलाई नौ लाख ५० हजार रुपैयाँ जरिवाना भएको छ भने एक वर्ष ६ महिना कैद हुने भएको छ । उनले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले यसै वर्ष ११ पुसमा जिसीविरुद्ध मुद्दा चलाएको थियो ।