काठमाडौंका २५ सय घरमा बल्न थाल्यो भूमिगत तारबाट प्रवाहित बिजुली

ठमाडौं । नेपाल विद्युत प्राधिकरणले भूमिगत तारबाट घरघरमा बिजुली वितरण गर्न थालेको छ । प्राधिकरणले हालसम्म काठमाडौंका करिव २५ सय घरधुरीसम्म भूमिगत प्रणालीमार्फत विजुली वितरण गरेको बताएको छ ।

विस २०७६ सालदेखि सुरु गरिएको विद्युत तार भूमिगत प्रणालीको काम हालसम्म काठमाडौंको करिव ८० प्रतिशत स्थानमा सम्पन्न भइसकेको प्राधिकरणले बताएको छ । यसरी तार भूमिगत गरिएको स्थानका घरधुरीसम्म भूमिगत प्रणालीमार्फत नै लाइन जडान गरी विद्युत सेवा उपलब्ध गराइएको हो ।

प्राधिकरणले करिव ४ महिना अघिदेखि तार भूमिगत गरिएका स्थानहरुमा विद्युत लाइन पनि भूमिगत प्रणालीबाटै दिन थालेको प्राधिकरणका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले बताए । उनका अनुसार हाल पुरानो सिनामंगल, पेप्सीकोलालगायतका स्थानमा भूमिगत प्रणालीबाट विद्युत वितरण सुरु गरिएको हो ।

करिव २ महिनादेखि उक्त क्षेत्रका करिव २५ सय घरधुरीले भूमिगत प्रणालीबाट बिजुली पाइरहेको प्राधिकरणको तार भूमिगत आयोजनाका प्रमुख पियुष मालाकारले जानकारी दिए । ‘हामीले करिव ४ महिनाअघिदेखि भूमिगत प्रणालीबाट बिद्युत सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘सोहीअनुसार करिव २ महिनादेखि पेप्सीकोला क्षेत्रको मुख्य सडक किनाराका सबै घरमा भूमिगत प्रणालीबाट बिद्युत पुगेको छ ।’ उनले प्राधिकरणले कीर्तिपुर, सामाखुसी, कालिमाटी, बल्खु, कलंकीलगायतका क्षेत्रमा पनि घरघरसम्म भूमिगत तार पुर्याई बिजुली वितरण गर्न थालेको बताए ।

यसरी भूमिगत प्रणालीबाटै घरघरसम्म बिजुली पुर्याउँदा पहिलो प्रयोग गरिएका तार र बिजुलीका पोलहरुको भने काम नभएको उनको भनाई छ । ‘अब बिजुली जमिनमुनीबाटै जाने भएपछि पेप्सीकोला क्षेत्रको विद्युत लाईनका लागि गाडीएका पोल र टांगिएका तार हाल बेकामका भएका छन्,’ उनले भने, ‘त्यहाँ तार र पोल देखिएपनि त्यसमा अब बिजुली प्रवाह हुँदैन ।’

हाल भूमिगत प्रणालीबाट बिजुली पुर्याउन तयारी भएका क्षेत्रमा तार भूमिगत गर्ने, ग्राहकको घरको मिटरसम्मै बिजुलीको लाइन भूमिगत प्रणालीबाट पुर्याउनेलगायतका काम प्राधिकरणले गरिसकेको छ ।