नेता र व्यापारीले डुबाएको लालीगुराँस सहकारी पनि संकटग्रस्त घोषणा, आमनागरिकको ६ अर्ब के हुन्छ ?

नेता, उनीहरूका आफन्त र व्यापारीले डुबाएको ललितपुर पुल्चोकस्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले संकटग्रस्त घोषणा गरेको छ ।

बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार लालीगुराँसलाई संकटग्रस्त घोषणा गरेको हो । योसँगै मन्त्रालयले  सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।

समितिले छानबिन गरेपछि थप कारबाही अगाडि बढ्नेछ ।  ‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो सहकारीेमा आमनागरिकको ६ अर्ब बचत छ । तर, राजनीतिक दलका नेताका आफन्त र कम्पनीलाई ऋण लगानी गरेर दुरुपयोग गरेको यो सहकारीले बचत फिर्ता गर्न सकेको छैन।
त्यसपछि बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए । संस्थामा सेयर सदस्यलाई हानि पुग्ने विभिन्न गतिविधि भइरहेका पाइएपछि सरकारले कारबाही अगाडि बढाएको हो ।

यो सहकारीले गैरकानुनी रुपमा लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी गरेको थियो भने सम्पत्तिका रूपमा देखाएको रकम र संस्थागत लगानी शंकास्पद देखिएको थियो । 

लालीगुराँस सहकारीका  ‘हाइ प्रोफाइल’ऋणिमा  महेन्द्रनारायण निधि स्वास्थ्य सहकारी संस्था (तत्कालीन अध्यक्ष चन्द्रप्रसाद ढकाल),राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य समेत भइसकेका नेपाली कांग्रेस नेता दक्ष पौडेल, माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल, गोरखा अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा, पूर्वगभर्नर तीलक रावलकी बुहारी सृष्टि राणा रावल हुन्। तर, यीमध्ये कयौँले ऋण तिरिसकेको दाबी गरेका छन्।

कांग्रेस नेता सुरेन्द्र भण्डारी यो सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत हुन्। यद्यपि ,उनले गत वर्ष मात्र राजीनामा दिएका थिए।  अहिले कामु सीईओ अनुजा कार्की छिन्।