करोडौं क्यान्सरका बिरामीको भावनामा खेलबाड गरेकोले पुनम र सामविरुद्ध १०० करोडको मानहानी मुद्दा

केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

यो समाचारले उनको बारेमा असन्तुलित उत्सुकता आम मानिसमा जगाएको थियो। पछि उनले आफू ज्यूँदो नै रहेको भनेर सामाजिक सञ्जालमा लेखिन्। उनको यो स्टन्टलाई सेलिब्रेटी तथा उनका निकटले ‘खराब स्वाद’कै उपमा दिए।

उनको समर्थनमा केवल रामगोपाल बर्मा मात्र देखिए । बर्माले पुनमले कुनै प्रचार अभियान भन्दा पनि भारतीयहरुलाई गुगल रोगबारे जानकारी गराएको दाबी गरेका थिए।

अब भने पुनम र उनका पति साम बम्बेले अदालती मुद्दाको झमेला व्यहोर्नु पर्ने देखिएको छ। असिम रियाज र साना राइस खानका विरुद्ध यसअघि अदालतमा मुद्दा दर्ता गराएर चर्चामा आएका फैजन अन्सारीले पुनम र सामविरुद्ध १०० करोडको मानहानी मुद्दा दर्ता गराएका छन्।

फैजनले एकापसमा अलग्गिएका पुनम र सामले करोडौं क्यान्सरका बिरामी र उनीहरुका परिवारको भावनामा खेलबाड गरेको दाबी गरेका छन्। ‘पुनम र उनका पति, सामले क्यान्सर जस्तो गम्भीर रोगको खिल्ली उडाउँदै मृत्युको नाटक गरे। पुनम पाण्डेले व्यक्तिगत प्रचारका लागि यो नाटक रच्दै करोडौं भारतीय र सम्पूर्ण बलिउडको विश्वासलाई धोका दिइन्’, मुद्दामा भनिएको छ।