आश्रम निर्माणमा दाता जुट्दै : गण्डकी प्रदेश
यहाँ निर्माणाधीन मानव सेवा आश्रमका लागि स्वेच्छिक सहयोग जुट्न थालेको छ । जिल्लालाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ बनाउने अभियानमा सक्रिय आश्रमको भवन निर्माणमा दाताहरू जोडिएका हुन् ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको रु ५० लाख बजेटबाट निर्माण थालिएको भवनका लागि व्यक्तिगत तवरबाट पनि सहयोग आउन थालेको आश्रमका संयोजक सुमिरा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका–३ निवासी व्यवसायी सरोजकुमार र रमा श्रेष्ठले रु एक लाख ११ हजार र वडा नं २ का राजेश भारी र आशा राजभण्डारीले ५० बोरा सिमेन्ट उपलब्ध गराउनुभएको छ ।
“उहाँहरूले स्वतःस्फूर्त रूपमा आश्रम निर्माणका लागि सहयोग गर्नुभएको हो”, संयोजक लामाले भन्नुभयो, “अब सार्वजनिकरूपमै सहयोगको आह्वान गर्छौँ, त्यसबाट धेरै दाता थपिने हाम्रो विश्वास छ ।” मानवीय सेवाको पवित्र उद्देश्य राखेर आश्रम बनाउन लागिएकाले सबै पक्षबाट सहयोगको हातेमालो हुनेमा आश्रम व्यवस्थापन ढुक्क छ । उसो त अहिले अस्थायी संरचनाबाट चलेको आश्रमको दैनिक सेवा पनि दाताकै भरबाट चलेको छ ।
आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निरयघाटमा बन्न लागेको भवनका लागि राज्यका तर्फबाट पनि ठूलो लगानी परेको छ । गत आवमा प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि बल्ल भवन निर्माणले गति लिएको थियो । यस आवमा पनि प्रदेशबाट थप रु ५० लाख र बागलुङ नगरपालिकाबाट रु १० लाख बजेट विनियोजन भएको संयोजक लामाले बताउनुभयो । गत आवको बजेटबाट तीनतले भवनको पहिलो तला ढलानसहितको काम पूरा भएको उहाँको भनाइ छ ।
भवन निर्माणमा २० प्रतिशत जनश्रमदानसमेत जुटाइएको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले बताउनुभयो । बजेट अपुग नभए आउँदो दुई वर्षभित्रमा आश्रमको निर्माण पूरा गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । आश्रम निर्माणका लागि बागलुङ नगरपालिकाले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको थियो । सय जना अट्ने गरी भवनभित्रको संरचना बन्ने भएको छ । योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । आश्रमका सबै पूर्वाधार खडा गर्दा झण्डै रु १० करोडको बजेट अनुमान गरिएको छ ।
तीनै तहका सरकार, निजी क्षेत्र र दाताहरूबाट स्रोत जुटाएर भवन निर्माणलाई पूर्णता दिइने आश्रमले जनाएको छ । बागलुङ नगरपालिकाले यसअघि नै आश्रमको अभिभावकत्व ग्रहण गरिसकेको छ । नगरपालिकाकै पहलमा जग्गाको जोहो भएपछि भवन निर्माणको टुङ्गो लागेको थियो । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायीरूपमा आश्रम सञ्चालित छ ।
सुविधायुक्त भवन बनेपछि आश्रमको सेवा पनि व्यवस्थित बन्ने जनाइएको छ । ठाउँ अभावले गर्दा अहिले भएको संरचनाबाट धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । “अर्को वर्षभित्रमा बागलुङलाई सडक मानवरहित घोषणा गर्ने तयारी छ, भवन निर्माणले पनि त्यो लक्ष्य हासिल गर्न ठूलो आधार तयार गर्छ”, संयोजक लामाले भन्नुभयो ।
आश्रमले सडकमा अलपत्र दिनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनःमिलन गराउँदै आएको छ । अहिले आश्रममा ५३ जना बेसहारा नागरिकले आश्रय लिइरहेका छन् । आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायतका कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको छ । तीमध्ये कैयनको परिवारसँग पुनःमिलन भएको छ ।
आश्रमले सडकबाट उद्धार गरिएका बालबालिकालाई पढाइमा समेत लगाउने गरेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरूको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो ।
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
अमेरिकी संसद्मा राष्ट्रपतिको स्वास्थ्यका विषयमा विवाद
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
प्रतिक्रिया