काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असोज ४ गते बिहीबारदेखि निरन्तर जारी बैठकमा आफ्नो धारणा राख्नुहुँदै केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले काँग्रेसले देशमा रोजगारी सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रको विस्तार गर्नुपर्नेमा महत्त्व दिनुपर्ने बताउनुभयो ।

घिमिरेले भन्नुभयो, “सकारात्मक वातावरणमा कसरी लैजाने, कतिपय मुद्दाहरूमा स्पष्टताको आवश्यकता छ । स्वदेशमा रोजगारीको सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रमा विस्तार गर्नेमा महत्त्व दिनुपर्छ । काँग्रेसले स्पष्ट दिशा दिन सक्नुपर्छ ।” उहाँले काँग्रेसको अब बस्ने महासमितिको बैठकमा यी विषय सम्बोधनका लागि नीतिगत रूपमा सुधारको आवश्यकता रहेको भनाइ राख्नुभयो ।

यसै गरी केन्द्रीय सदस्य प्रदीप पौडेलले सबै विषयमा अनुशासन समितिले सिद्धान्त बनाउनुपर्ने बताउनुभयो । महासमितिको बैठकको मिति तोकिएको भन्दै उहाँले नीति अधिवेशन हुन नसकेको र महासमिति बैठकलाई नै नीति अधिवेशन गर्ने भनिएको बताउनुभयो ।पौडेलले भन्नुभयो, “नीति अधिवेशनले आशाको सञ्चार गर्न सक्नुपर्छ । १५ औँ पञ्चवर्षीय योजनाको अवधि समाप्त भएको छ ।

१६ औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ भनेर योजना आउनुपर्छ ।” उहाँले विश्वव्यापी जलवायु परिवर्तनको बारेमा अवधारणा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम निरन्तर जारी छ ।