सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि गरिने

काठमाडाैँ।नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।

अन्त्येष्टिअघि शवयात्रा गरिने एमालेले जनाएको छ । शवयात्राको रुट उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

संविधान सभाका अध्यक्ष स्व।नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा हिजाे पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको एमालेले जनाएको छ ।

को थिए सुवासचन्द्र नेम्वाङ ?

सुवासचन्द्र नेम्वाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो। उनले कानुनमा स्नातक (बीएल) गरेका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख हुनुहुन्थ्यो। त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसक्नु भएको छ।

२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ। नेकपा(एमाले)को केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित भएका थिए।

नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य हुन् । स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववीयूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववीयू सभापति भएका थिए ।विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र(माले)मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख थिए ।

उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक पटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए।