एनसेलद्वारा एक बर्षमा ३३८ नयाँ मोबाइल टावर जडान

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ ।यी टावरहरु गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् ।

फोरजी सेवाको पहुँचबाट स्थानियलाई लाभ प्रदान गर्न पहिलो पटक सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरू पर्दछन् । यसरी पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ स्थानहरुमा उत्तरगया गाउँपालिका (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गा गाउँपालिका (खोटाङ) का ग्रामिण इलाकाहरु, र इनरुवा नगरपालिकाका नयाँ स्थानहरु लगायतका ठाउँहरु पर्दछन् ।

गत आवमा नै एनसेलले आफुले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २८३ नयाँ टावरहरु जडान गरेको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको थियो । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेश प्रदेशलगायतका स्थानमा अधिकांश साइट जडान भएका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “एनसेलका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नेपालभर एउटा राम्रो दूरसञ्चार नेटवर्क निर्माण गर्नु हो । हामीले डिजिटल नेपालको परिकल्पनामा योगदान गर्न आधारभूत मोबाइल र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्दै देशका विभिन्न भागका दुर्गम र क्षेत्रहरूलाई हाम्रो सेवाले जोडेका छौं । आफ्नो नेटवर्क मार्फत हरेक नेपालीलाई जोड्ने हाम्रो लक्ष्यमा हामी प्रतिबद्ध छौं । उच्च गुणस्तरीय आधुनिक सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरु र साझेदारहरूलाई यसको लाभ प्रदान गर्न हामी निरन्तर काम गरिहेका छौं ।”

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गत आवमा विभिन्न ६० जिल्लाका झण्डै १,४५० मोबाइल टावरहरुको स्तरोन्नती पनि गरेको छ । यसरी स्तरोन्नती गरिएका टावहरुहरु मध्ये ७८० भन्दा बढी विभिन्न नगरपालिकामा स्थापना गरिएका टावरहरु पर्दछन् ।

त्यसैगरी गाउँपालिका स्तरमा जडित ४४० बढी टावरहरुको स्तरोन्नती गरिएको छ । यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नती गर्दै फोरजीको क्षमता अभिवृद्धि गरेको छ ।

ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेका छन् ।

फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।