हेटौँडा उपमहानगरपालिकाद्वारा रु दुई अर्ब ६८ करोडको बजेट पास

हेटौँडा उपमहानगरपालिकाले १३औँ नगरसभाको दोस्रो बैठकबाट रु दुई अर्ब ६८ करोड ६० लाख १ हजार आठ सयको बजेट पास गरेको छ । यसअघि हेटौँडा उपमहानरगपालिकाले आव २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सयको अनुमानित बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारको विभिन्न शीर्षकका थप हुने रकमसहित आज बसेको नगरसभाको बैठकबाट सर्वसम्मतरूपमा बजेट पास गरेसँगै हेटौँडा बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तार गर्ने निर्णय सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मतरूपमा बजार क्षेत्रलाई फराकिलो बनाउने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । “सडक विस्तारका विषयमा जिल्लाका दलबीच मतभिन्नता भइरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेको हो । डिभिजन सडक कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो । क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ तर अब बजार क्षेत्रको बाटो फराकिलो हुन्छ”, प्रवक्ता न्यौपानेले बताउनुभयो ।

बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, न्यायिक समितिबाट २०७९/८० मा भएका कार्यसम्पादनलाई पास गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । नगर सुन्दर बनाउने योजनाका साथ बजार क्षेत्रका सडकलाई अब विस्तार गर्ने निर्णय भएकोे हो । यस्तै बैठकले उपमहानगर क्षेत्रभित्र सुर्तीजन्य पर्दाथ बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसका लागि ऐन बनाएर कार्यविधि ल्याई लागू गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।